इनरुवा / सुनसरीका प्रमुख मालपोत अधिकृत धुव्र कोइरालामाथि लेखापढी व्यवसयिाीले हातपात गरेका छन् ।
मंगलबार बेलुका कार्यालयबाट बाहिर निस्कदै गर्दा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुख कोइरालामाथि लेखापढी व्यवसायी जिब्राइल अन्सारीले हातपात गरेका हुन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मालपोत प्रमुखमाथि कठालो समातेर कुटपिटनै गरिएको छ । हातपात गर्न थालिए पछि कार्यालय प्रमुख उम्केर भागेका थिए ।
मालपोत प्रमुखमाथि हातपातको आरोप लागेका अन्सारी नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन सुनसरीका उपाध्यक्ष हुन् । कार्यालय प्रमुख माथि दुव्र्यवहार गरिएको घटनाप्रति मालपोतका कर्मचारीले रोष प्रकट गरेका छन् ।
पीडित कोइरालासहित कार्यालयका कर्मचारीहरुले मंगलबार बेलुका नै जिल्ला प्रहरी कार्यालयमा पुगेर अन्सारी उपर कानुनी कार्वाहीको माग गर्दै उजुरी दिएका छन् । मालपोतका कर्मचारीहरुले लेखापढी व्यवसायीबाट भएको कुटपिटको घटनालाई गम्भिर रुपमा लिएको बताएका छन् ।
मालपोत प्रमुख कोइरालाले आफुमाथि सुनियोजित रुपमा आक्रमण भएकाले घटनामा संलग्नलाई पक्राउ गरि कार्वाहीको माग गरेका छन् । कार्यालयबाट डेरा तर्फ जाने क्रममा आफु सवार स्कुटी रोकेर आफुमाथि दुव्र्यवहार सहित हातपात गरिएको मालपोत प्रमुख कोइरालाको भनाई छ ।
प्रमुखका रुपमा सुनसरी आएयता कोइरालाले अस्तव्यस्त रहँदै आएको मालपोत कार्यालयको सेवा चुस्त पार्नुका साथै सहज र पारदर्शी सेवा प्रदान गर्न एकपछि अर्को कडा कदमहरु चाल्दै आएका थिए ।
केहि समय अघिसम्म कार्यालय भित्रै प्रवेश गरि श्रेस्ताहरु खोज्ने र मोठ भिडाउने गर्दै आएका लेखापढी व्यवसायीहरुलाई कार्यालय प्रमुख कोइरालाले त्यसो गर्नबाट रोकेका थिए । कोइरालाले आफुले चालेका सुधारका कदम विरुद्ध सुनियोजित रुपमा आक्रमण भएको दावी गरेका छन् ।
हातपात गरिएको विषयमा उजुरी परेकाले सो विषयमा आवश्यक कार्वाहीको प्रकृया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।