विराटनगर /  विवाहको अघिल्लो दिन धरानका एक जना बेहुला पक्राउ परेका छन् । भारतको जोगवनीबाट अवैध रूपमा लागूऔषध ल्याएको आरोपमा बेहुला पक्राउ परेका हुन् । आइतबारका बेहुला धरान उपमहानगरपालिका –१५ का कमल धमला विश्वकर्मालाई शनिबार साझ विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । भारतको जोवनीदेखि अवैध रुपमा लागूऔषध ल्याएको आरोपमा लागूऔषध ब्यूरो टोलीले कमललाई २१ एम्पुल लागूऔषध सहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

विवाहको अघिल्लो दिन प्रहरीको हिरासत बसेर विवाहको दिन दुई जना सादा पोशकमा प्रहरी खटाएर कमललाई घर पठाएको थियोे । विवाहको दिन कमललाई लिन जन्ती जाने टोली पनि मोरङ प्रहरीको कार्यालयमा बाहिर आएका थिए । विवाहको एक दिनका लागि सादा पोशकमा प्रहरी टोली खटाएर कमललाई घर पठाएको स्रोतले जानकारी दिएको छ । आइतबारको विवाह सकिएपछि सोमबार साझ कमललाई जिप्रका मोरङ ल्याएको छ । मंगलबार दिउँसो सरकारी वकिलको कार्यालयमा कमललाई उपस्थित गराएर मोरङ अदालतमा लागूऔषध मुद्दामा म्यात थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । बेहुलीको घर धनुकुटाको महालक्ष्मी नगरपालिको चानुवाडाडागाउँ हो । उनीहरूको लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो । आइतबार कमलको महालक्ष्मी नपा चानुवाडाडागाउँकी रसाईली थरकी एक किशोरीसँग रात्री  विवाह भएको हो । पक्राउ परेका कमल लागूऔषध प्रयोगकर्ता रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । पक्राउ परेका धमलाले बावुको मृत्यु भएको र आफु डिप्रेसनमा परेपछि लागूऔषध सेवन गर्न सुरु गरेको प्रहरीले लिएको बयानको क्रममा बताएका छन् । धरानको रत्नरोडमा सुन पसल समेत रहेको धमला परिवारको जेठा छोरा हुन् । उनका कान्छा भाइ, एक जना दिदी र आमा छन् । उनले सुन पसल संचालन गर्दै आएका थिए ।