धरान/ महिला बलात्कारको आरोपमा उजुरी परे पनि हालसम्म प्रहरी हिरासतमा नपरेका वराहक्षेत्रको चतरास्थित रामानन्दाचार्य सेवापीठका मठाधीस कृष्णबहादुर गिरी अस्पतालको डिलक्स रुमलाई ‘भिआइपी हिरासत’ बनाउन सफल भएका छन् ।

आफूलाई आयुर्वेद र वेदका ज्ञाता, जगद्गुरु, अनन्तश्री महायोगी सिद्धबाबा भनेर नामको अगाडि विद्यावारिधि गरेको भन्दै डा. लेख्न मन पराउने ४५ वर्षीय कृष्णबहादुर गिरी विराट नर्सिङ होममा ‘उपचाररत’ छन् । प्रहरीले एक महिलाले आफूलाई बलात्कार गरेको किटानी जाहेरी नै दिएपछि उजुरी दर्ता गर्दै बलात्कार अनुसन्धान गर्न हिरासतमा राख्न सक्ने भएपछि उनी रातारात विराट नर्सिङ होमको स्त्री तथा प्रसूति विभागको पाँच नम्बर बेडमा भर्ना हुन पुगेका थिए ।

पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र पछिल्लो पटक ३ दिनको मात्र म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा बसेका छैनन् । उनको अनुसन्धानका लागि अदालतले तेस्रो पटक दिएको तीन दिनको म्याद पनि आइतबार नै सकिएको छ । अनुसन्धानको म्याद सकिएकाले अब प्रहरीले के गर्छ र अदालतले के आदेश दिन्छ भन्नेमा सर्वसाधारणले चासो लिएका छन् ।

बलात्कारको आरोपी सर्वसाधारण भए चासो हुँदैनथ्यो । तर सोलुखुम्बुको जुबुमा ४५ वर्षअघि जन्मेका गिरीले दुई नागरिकता लिएको, सुनसरी–मोरङ सिंचाइ आयोजनाको १३ बिघा जग्गा कब्जा गरी त्यहाँ बसेका आदिवासी जनजाति समुदायलाई विस्थापित गरी एक्लौटी रूपमा भोगचलन गरेको, रातारात ८ करोड रुपैयाँ लागतमा १ सय २८ कोठे वातानुकूलित भवन निर्माण गरेको, सात कक्षा फेल भए पनि विभिन्न विषयमा आचार्य गरेको र केही विषयमा विद्यावारिधि नै गरेको, अनुयायी महिलाप्रति आशक्त भएर यौन दुव्र्यवहार गर्ने गरेको, नौ–नौ दिनसम्म भूसमाधि बसेर सर्वसाधारणलाई पङ्गु बनाएको जस्ता विवादमा आइरहने भएकाले ‘सिद्धबाबाले गरेको बलात्कार काण्ड’ बारे सर्वसाधारणमा चासो बढेको हो ।

गिरीकै आश्रम आसपासका महिलाहरूले भने उनलाई उन्मुक्ति दिन नहुने बताइरहेका छन् । वराहक्षेत्रको महिला सञ्जालले यसअघि पनि आश्रममा आउने महिला र बालिकामाथि यौन दुव्र्यवहार गर्दै आएको चर्चा चलेकाले अहिले आएर एक अनुयायी महिलाको उजुरीले पुष्टि गरेको भन्दै प्रहरी र अदालतले उन्मुक्ति दिए सामाजिक बहिष्कार गर्नेसम्मको चेतावनी दिएको छ ।

अब सोमबार अदालतले थप अनुसन्धानका लागि प्रहरीलाई गिरीको म्याद थप गर्छ कि गर्र्दैन भन्नेमा पनि चासो बढेको छ । म्याद थप हुने नहुने बारे एकिन नभए पनि जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले म्याद थप नभएर अहिलेसम्म भएका अनुसन्धानका मिसिल सरकारी वकिलमार्फत् अदालतमा बुझाउने बताए ।

म्याद थप नभएको अवस्थामा प्रहरीले गिरीसहित मिसिल अदालतमा बुझाएपछि थुनछेकका लागि दोहोरो बहस हुनेछ । अदालतमा हुने बहसपछि गिरी धरौटीमा कि साधा तारिखमा छोडिने वा पुर्पक्षका लागि कारागार चलान हुनेमध्ये एकको आदेश हुनेछ ।

यी तीनवटै विकल्प प्रहरीले हालसम्म गरेको अनुसन्धान र जुटाएको प्रमाणको आधारमा साधा तारिख, धरौटी वा पुर्पक्षका लागि कारागार पठाउने आदेश अदालतले गर्न सक्ने कानून व्यवसायी पदम इस्वोले बताए । उनले भने, ‘बलात्कारजस्तो संवेदनशील मुद्दा भएकाले सम्भवतः सामान्य तारिखमा छाडिने सम्भावना कम छ । तर प्रहरीको अनुसन्धान र उसले जुटाएको प्रमाणमा पनि भर पर्छ ।’