धरान । दुर्घटनाबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको विषयमा क्षतिपूर्ति दिने भएपछि राति ८ बजेपछि हिले–सिधुवा सडक खण्ड खुलेको छ ।

स्थानीय प्रशासनको रहोबरमा बसेको छलफलपछि मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति पछि अवरुद्ध सडक खुलेको हो । धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेको अगुवाइमा बसेको छलफलले क्षतिपूर्ति दिने सहमति गरेको हो ।

आइतबार हिलेबाट तेह्रथुमतर्फ जाँदै गरेको टेम्पो र ठूलो मालबाहक बोक्ने लोपेटसँग ठक्कर खाँदा टेम्पो चालक धनकुटा–२ का दशरथ पाख्रिन र टेम्पोमा सवार तेह्रथुम छथर घर भएका साङ्गे शेर्पाको निधन भएको थियो । निधनपश्चात् परिवारले क्षतिपूर्तिको माग गर्दै स्थानीय सडक अवरुद्ध गर्दै आन्दोलन थालेका थियो ।

मृतक परिवारसहित स्थानीयले शव सडकमा तेस्र्याएर बाटो अवरुद्ध गर्दै आन्दोलन गर्न थालेपछि त्यसको निकासका लागि प्रजिअ डा. घिमिरेको नेतृत्वमा छलफल बसेको हो । छलफलपछि राति ८ बजेतिर मात्रै निकास निस्किएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

सडक अवरुद्धका कारण धरानबाट तेह्रथुम तथा पहाडी क्षेत्रबाट धरानतर्फ झरेका गाडीहरू अवरुद्ध हुन पुगेका थिए । त्यसक्रममा यात्रुहरू विचल्ली बनेका थिए ।