धरान/ धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका राजेश्वर साहको घरमा शुक्रबार मध्यराति बम विष्फोट हुँदा तीन जनाको ज्यान गएको छ ।
विष्फोटमा ४६ वर्षीय राजेश्वर र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो भने विष्फोटमा घाइते भएका नेपाल प्रहरीका इन्स्पेक्टर अमिर दाहालको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । घाइतेहरूलाई शनिबार बिहान धरान ल्याइएको थियो ।
विष्फोटमा राजेश्वरका बाबु भिखारी, छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजनाथ महतो घाइते भएका छन् । भिखारीको जनकपुरस्थित प्रदेश अस्पतालमा र अन्यको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बमको छर्राले गहिरो चोट लागेका प्रकाश र रिजनाथ गम्भीर घाइते छन् ।
शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालयनजिकै राखिएको बम प्रहरीले छुनासाथ विष्फोट भएको थियो । बम राखेको सूचना आएपछि राति नै इन्स्पेक्टर दाहालको नेतृत्वमा प्रहरी टोली राजेश्वरको घर पुगेको थियो । घरको पछाडिपट्टिको गेट खोल्ने बित्तिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले शनिबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।
प्रहरीले विप्लव समूहकी प्रदेश २ संयोजक ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललितादेवी महरा र कार्यकर्ता रामशोभित धानुकलाई पक्राउ गरेको छ । उनीहरूलाई गाउँ घेरा हालेर पक्राउ गरिएको हो । बम विष्फोट घटनाको छानबिन गर्न इन्स्पेक्टर उमाशङ्करप्रसाद साहको संयोजकत्वमा सात सदस्यीय समितिसमेत बनाइएको छ ।