धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) धनकुटा शाखाले आयोजना गरेको ७ दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ ।
धनकुटा नगरपालिका कार्यालयको आर्थिक सहयोगमा सञ्चालित ७ दिने आधारभूत पत्रकारिता तालिममा धनकुटा नगरक्षेत्रका ११ महिलासहित २० जनाले भाग लिएका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले तालिममा सिकेको ज्ञान सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे । तामाङले पत्रकार भनेको समाजको ऐना भएकाले सत्य–तथ्यलाई टेकेर समचार लेख्न सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरे । उनले समाजमा पत्रकारहरूको ठूलो जिम्मेवारी हुने बताए । नगरप्रमुख तामाङले अहिले आधारभूत पत्रकारिता तालिम लिएकाहरूलाई थप एड्भान्स तालिमको लागि समेत नगरपालिकाले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सो अवसरमा समापन समारोहका विशेष अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिका सल्लाहकार एवम् नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राईले पत्रकारले कसैलाई काखा र कसैलाई पाखा नगरी समचार लेख्नुपर्ने बताए । उनले पत्रकारले कसैको पक्ष नलिई यथार्थ घटनालाई उजागर गर्न सक्नुपर्ने बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न ७ दिने आधारभूत पत्रकारिता तालिम समापन समारोहमा धनपा–१ नम्बर वडा कार्यालय हिलेका कार्यवाहक अध्यक्ष लालचन्द्र गोङ्वा, फोनिजका प्रदेश महासचिव विदुर खवास, नेपाल पत्रकार महासङ्घ धनकुटाका वरिष्ठ उपाध्यक्ष एवम् तालिमका प्रमुख प्रशिक्षक नगेन्द्र राई, पूर्वअध्यक्ष खगेन्द्र घिमिरे, हिले पर्यटन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्ट, जौटार सामुदायिक वनका अध्यक्ष वीरबहादुर तितुङ, नवज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धीरेन थिङलगायतले तालिममा सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन फोनिज धनकुटा शाखाका सचिव नगेन्द्र कश्चितले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष मानवी तामाङले राखेका थिए । सो अवसरमा तालिममा सहभागीहरूको तर्फबाट मीनादेवी भूजेल र सञ्जय राईले आ–आफ्नो धारणा राखेका थिए ।































