ब्लाष्टखबर । आफ्नै अनुयानीमाथि बलात्कार गरेको आरोपमा चतराधामका सिद्ध बाबाका रूपमा परिचित कृष्णदाश महाराजविरुद्ध दिएकाे उजुरी प्रहरीले लिन अस्वीकार गरेपछि उल्टाे पीडितलाइ उजुरी फिर्ता लिन दबाव बढेको छ ।

गत कात्तिक ४ गते भेट्न बोलाएर अतराधामस्थित आश्रममै बलात्कार गरेको भनी प्रहरीलाई दिएको उजुरी दर्ता गर्न नमानेपछि उजुरी फिर्ता लिन दबाव बढेको पीडितको भनाइ छ ।

स्थानीय प्रहरीले उजुरी लिन नमानेको भन्दै केहि दिनअघि काठमाडौंस्थित माहनागरीय प्रहरी वृत्त पुगेकी ती महिलालाई वृत्तले सुनसरीको घटना भनेर फर्काएपछि पीडित महिला केन्द्रिय अनुसन्धान ब्यूरो पुगेकाे स्रोतले जनाएको छ ।

ब्यूरोले महिलाको स्वास्थ परीक्षण गरी जाहेरी सुनसरी प्रहरी कार्यालय पठाइएको भए पनि सुनसरी प्रहरीले अनुशन्धानमा चासो नदेखाएको स्रोतकाे भनाइ छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान भइरहेको बताएको छ ।

कृष्णदासले २ वर्ष अघि चतरामा कार्यरत प्रहरी हवल्दारमाथि हातपात गरेका थिए । उक्त विषयकाे घटना मिलाउनका लागि जिल्ला प्रहरीलाइ सकस परेकाे थियाे । राैतहटबासी ती हवल्दार हाल प्रदेश २ मा कार्यरत छन् ।