विराटनगर/ मोरङको बूढीगङ्गा गाउँपालिका–३ स्थित अरिहन्त अटो कोरोगेसन प्राइभेट लि. ले कवाडीमा कर छली गरेको पाइएको छ । उद्योगबाट उत्पादित वस्तुको कवाडी सामानमा कर छली गरेको पाइएको हो ।

९ टन २ सय ७० केजी कवाडी सामग्री बोकेको ना.२ ख ५३५२ नम्बरको ट्रकलाई ठेकेदारले बुधबार राति बूढीगङ्गा गाउँपालिका–४ निमुवा चौकमा नियन्त्रणमा लिएको हो । बूढीगङ्गा गाउँपालिकाले प्रतिकेजी कवाडी कर १ रुपैयाँ लिँदै आएको छ । गाउँपालिकाले १ करोड १ लाख ७ सय रुपैयाँमा बूढीगङ्गा गापा–४ का मो.हकमुद्दिनले ठेक्का लिएका छन् ।

उनले गत साउनदेखि बूढीगङ्गा गाउँपालिकाभित्र रहेका उद्योगबाट उत्पादित कवाडी वस्तुको कर उठाउँदै आएका छन् । कवाडीको सामग्री बोकेको ट्रक उक्त उद्योगले कर नतिरी लैजाने क्रममा नियन्त्रणमा लिएको ठेकेदार मो. हकमुद्दिनले बताए । नियन्त्रणमा लिएको ट्रक निमुवा प्रहरी चौकीमा रहेको छ ।

‘अघिल्ला दिनहरूमा पनि अरिहन्त अटो कोरोगेसन प्राइभेट लि.बाट उत्पादन हुने कवाडीको सामग्री कर छली गर्दै लैजाने गरेका थिए’ उनले भने, ‘रातिको समयमा कवाडीको सामान लैजाने गरेको हामीले चाल पायौं । रातिको समयमा ड्युटीमा खटिँदा ९ टनभन्दा कवाडीको सामान कर नतिरी लैजाने क्रममा नियन्त्रणमा लिएका हौं ।’

आवश्यक कारबाही र राजस्व दाखिला गराइदिन गाउँपालिकामा पनि निवदेन दिएको उनले बताए । ठेकेदार मो. हकमुद्दिनले अरिहन्त अटो कोरोगेसन प्राइभेट लि. बाट उत्पादन हुने कवाडीको सामान अन्यत्र लैजाँदा गत असोज १ गतेबाट राजस्व नतिरी लैजाने गरेको आरोप लगाएका छन् ।

बूढीगङ्गा गापाका प्रशासकीय अधिकृत विनोद न्यौपानेले कर छली गरेको उजुरी परेकोले आवश्यक छानबिन गर्न प्रहरी चौकी निमुवालाई पत्राचार गरेको जानकारी दिए । अरिहन्त अटो कोरोगेसन प्राइभेट कम्पनीबाट कार्टुनहरू उत्पादन हुने गरेको छ ।