राजविराज/ बालिका चोरीको प्रयासमा दुई भारतीय नागरिक पक्राउ परेको महिना दिनपछि मङ्गलबार अर्का भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुडी ठेगाना भएका ५० वर्षीय विनोद साहलाई पक्राउ गरेको हो । बङ्गाली भाषा मात्र बोल्ने उनी हरेक पटक फरक फरक ठेगाना बताउँदै आइरहेका छन् । अनुसन्धानका लागि बङ्गाली भाषा बुझ्ने स्थानीय एक जनाको सहयोग समेत लिईएको डिएसपी तिलक भारतीले बताए । डिएसपी भारतीले भने, उनले घटनाबाट जोगिन मानसिक सन्तुलन गुमाएको नाटक गरेका हुन् वा वास्तवमै बच्चा चोरी गर्ने काम गर्छन् भन्नेबारे एकिन गर्न सबैकोणबाट अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनको साथबाट एक थान मोबाइल र पूजामा प्रयोग हुने एक थान घण्टीसमेत बरामद गरेको छ । उनलाई मङ्गलबार बिहान ९ बजेतिर स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्ने ५ वर्षीया बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

सप्तरीको विष्णुपुर गाउँपालिका–७ निवासी मनिकलाल चौधरीकी ५ वर्षीया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चक्लेट र १ सय रुपैयाँको भारतीय नोट दिएर फकाएर लैजाँदै थिए । ‘सरस्वती टोलनिजकैबाट हामी स्थानीय मिली ती भारतीय नागरिकलाई पक्राउ गरेका हौं’ वडा नं. ५ का वडाध्यक्ष समिर झाले भने, ‘आक्रोसित स्थानीयबासीले कुटपिट गरी ज्यानै मार्ने अवस्था देखिएपछि प्रहरीलाई खबर गरेका थियौं ।’

अहिले प्रहरी हिरासतमा रहेका साहसँग आवश्यक सोधपुछ भइरहेको डिएसपी भारतीले बताए । बालिकालाई मङ्गलबारै प्रधानाध्यापक अरुणकुमार झाको रोहवरमा उनको अभिभावकको जिम्मा लगाइएको छ । गत कातिक १४ गते पनि हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित आफ्नो मामाको घरआँगनमा खेल्दै गरेकी एक ६ वर्षीया बालिकालाई चक्लेट र बिस्कुटको प्रलोभन दिई साइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका थिए । पक्राउ परेका भारत विहार राज्यको सुपौल जिल्ला निवासी २० वर्षीय आनन्द गोश्वामी र २२ वर्षीय अमिर झा अहिले पनि अनुसन्धानको सिलसिलामा हिरासतमै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।