विराटनगर/ विराटनगर–३ स्थित बालसुधार गृहको झ्याल तोडेर फरार भएका दुईजना ‘बाल बिज्याकर्ता’ (बन्दी) फरार भएपछि छानबिन टोली गठन भएको छ । मोरङ प्रहरीका डिएसपी राजकुमार खिउँजुको नेतृत्वमा छानबिन टोली गठन भएको हो ।

सुधार गृहमा २४ घण्टा नै प्रहरीको सुरक्षा हुन्छ । सुधार गृहमा रहेका बाल बिज्याकर्ताको रेखदेखमा सादा पोसाकमा असइको कमाण्डमा १० जना प्रहरी खटिने गरेको छ । असइ टीका राईको नेतृत्वमा प्रहरी बालसुधार गृहमा खटिएको थियो । बालकहरू फरार हुँदा हवल्दार जयनारायण यादवको ड्युटी रहेको थियो । २४ घण्टा सुरक्षा हुने स्थानबाट झ्यालको ग्रिल निकालेर बालक फरार भएपछि प्रहरीको सुरक्षाप्रति पनि प्रश्न उठेको छ ।

घटनाको सत्य–तथ्य छानबिन गर्न टोली गठन भएको बताइएको छ । मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले बालसुधार गृहमा रहेका बाल बिज्याकर्ता फरार भएपछि डिएसपीको नेतृत्वमा छानबिन टोली गठन गरिएको उनले बताए । ‘अदालतको आदेशपछि पुर्पक्षका लागि बालसुधार गृहमा रहेका बाल बिज्याकर्ता फरार भएका हुन्’ उनले भने, ‘घटनाबारे बुझ्न छानबिन टोली पनि गठन भएको छ ।’ लापरबाहीले उनीहरू भागेको पत्ता लागे लापरबाही गर्नेलाई कारबाही गरिने उनको भनाइ छ । फरार रहेका बालकहरूको खोजी कार्य व्यापक बनाइएको प्रहरीले जनाएको छ ।

अदालतको आदेशबाट पुर्पक्षमा रहेका दुई बालक सोमबार बिहान बालसुधार गृहको झ्याल फुटाएर भागेका थिए । ज्यान मार्ने उद्योग मुद्दामा झापा गौरादह नगरपालिका–११ का १६ वर्षीय बालक जिल्ला अदालत झापाले २०७६ साउन १६ गतेको आदेशपछि पुर्पक्षका लागि बालसुधार गृहमा रहेका थिए ।

जबरजस्ती करणी मुद्दामा मोरङ सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँका १७ वर्षीय अर्का बालक पनि मोरङ अदालतको २०७६ असार ५ गतेको आदेशपछि सुधार गृहमा थिए । विराटनगरमा रहेको बालसुधार गृहमा प्रदेश १ का १४ जिल्लाका १ सय ४८ जना बाल बिज्याकर्ता रहेका छन् । ५० जना क्षमता रहेको बालसुधार गृहमा क्षमताभन्दा तेब्बर बालकाहरू रहेका छन् ।