धरान /  धरान उपमहानगरपालिकाकालागि समाजवादी पार्टीबाट मेयर उम्मेदवार गजेन्द्र इस्बोले तीनकुने सुन्दर बस्ति विकास आयोजनामा बन्न लागेको बसपार्कको वरिपरि कर्मचारी र राजनीतिक दलका कार्यकर्ताको नाममा रहेका जग्गा सर्वदलीय सर्वपक्षीय रुपमा फिर्ता गर्नु पर्ने बताएका छन् ।
धरान–८ भोटेपुलमा विहीबार घरदैलो अभियानमा रहेका बेला बसपार्कको बारेमा आफ्नो धारणा राख्दै ल्याण्डपुलिङ जग्गामा नगरपालिकाका कर्मचारी र दलका नेता कार्यकताको नाममा भएको जग्गा फिर्ता गरेको खन्डमा मात्र बसपार्क बन्ने अन्यथा बसपार्क बन्न नसक्ने बताए ।
अधिग्रहण गरि बस्तीविकास संगै बसपार्क निर्माण गरिने भनिएको स्थानीय बासिन्दाको उक्त जग्गामा धरान उपमहानगरको कर्मचारीले जग्गा राखेपछि विवाद भएको इस्वोले बताए ।
यसैगरी उनले प्राबिधिकले धरान–१७ को डाडाघोपामा भेडेटार पहाडको कारण एयरपोर्ट बन्न नसक्ने भएकाले सस्तोमा किनिएको जग्गा सोही मुल्यमा तिनै जग्गा धनीहरुलाई फिर्ता गर्नुपर्ने बताए ।
उनले भने ‘अब यदि एयरपोर्ट नबन्ने हो भने सम्झौता अनुसार सस्तोमा किनिएको जग्गा सम्बन्धित जग्गा धनिलाई नै फिर्ता गर्नुपर्छ ।’ ०६० साल चैत १० गते धरान नगरपालिकाका तत्कालिन मेयर कुमारबहादुर कार्किको कार्यकालमा एयरपोर्ट बनाउनको लागि भनेर धरान १७ मा रहेको जग्गा यति इन्कर्पोरेटलाई खरिद गर्न पहल गरेका थिए । सम्झौता अनुसार सो जग्गा क र ख श्रेणिमा बिभाजन गरि क श्रेणिको जग्गा २८ हजार प्रती कठ्ठा र ख श्रेणिको जग्गा ३२ हजार प्रती कठठामा खरिद बिक्रि गर्ने जग्गा धनी सहितको मन्जुरी भएको थियो ।