विराटनगर/ विदेश पठाउने भन्दै ११ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना एजेण्ट पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा राम्रो कमाइ हुने प्रलोभन देखाएर दुबई पठाइदिने भन्दै गाउँका युवाहरूसँग रकम उठाएर फरार भएका सुनसरी हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह पक्राउ परेका हुन् ।

इप्रका रानी विराटनगरले साहलाई विराटनगर महानगरपालिका–१४ जतुवाबाट पक्राउ गरेपछि बिहीबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा उपस्थित गराएको थियो ।

विदेश पठाइदिने भन्दै सातजना युवासँग प्रतिव्यक्ति एक लाख ७० हजार रुपैयाँ उठाउँदै साह फरार बनेका थिए । ११ लाख ८० हजार रुपैयाँ ठगी गरेर भागेको भन्दै उनीविरुद्ध पीडितहरूले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका थिए । श्रमले गत असार ३१ गते पक्राउ पुर्जी जारी गरेपछि साहलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो । उनलाई प्रहरीले बिहीबार श्रमको जिम्मा लगाएको छ । साहबाट ठगीमा पर्नेमा सुनसरीकै हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल छन् । उनीहरू १९ देखि ३५ वर्ष उमेर समूहका छन् ।

श्रम कार्यालयका प्रमुख एवम् वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले पैसा फिर्ताका लागि पहल गरिदिन र ठगी गर्नेमाथि कारबाही गरिदिन माग गर्दै पीडित युवाले पहिल्यै उजुरी दिएको बताए । पीडित युवा सञ्जय मण्डलले दुबई लैजाने भन्दै आफूहरूलाई काठमाडौं पु¥याएर साह गायब भएको बताए ।

उनका अनुसार काम गर्नका लागि दुबईको बलदिया कम्पनीमा पु¥याउने र नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुन्छ भनेर साहले सबैसँग २०७५ चैतबाट पैसा उठाएका हुन् । अहिले पनि सबैको राहदानी साहकै कब्जामा रहेको मण्डलले बताए । श्रम अधिकृत सञ्जेलले दुबई पठाइदिन्छु भन्दै ठगी गरेका युवाको नाममा नेपालमा कुनै पनि मेनपावर दर्ता नभएको बताए ।

पीडितको पैसा २० दिनमा दिने सहमतिपछि एजेण्ट रिहा
पक्राउ परेका साहले पीडितको पैसा २० दिनभित्रमा दिने सहमति भएपछि साधारण तारेखमा छोडिएको वरिष्ठ श्रम अधिकृत सञ्जेलले बताए । साहको आमाको नाममा रहेको १५ कठ्ठा जग्गा रोक्का राखी २० भित्रभित्रमा पीडितको पैसा फिर्ता गर्ने कागजपत्र गराएर छोडिएको उनले बताए । २० दिनभित्र पीडितको पैसा नदिए रोक्का गरी राखिएको जग्गा लिलामी गरी पीडितहरूको पैसा भराइदिने उनले बताए ।