विराटनगर/ वैदेशिक रोजगारमा पठाउने भन्दै मोरङकी एक जना महिलाले ५० जनासँग लाखौं ठगी गरेको खुलेको छ । मालदिभ्स पठाउने नाममा मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक र बेलबारी नगरपालिका–१० दुई ठाउँमा बसोबास गर्दै आएकी ३३ वर्षीया लक्ष्मी दाहाल (बिडारी) ले ५० जनासँग ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको घटना बाहिर आएको हो ।
अहिले सम्पर्कविहीन भएकी लक्ष्मीले आकर्षक कमाइ हुने प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गरेको उजुरी विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा परेपछि यो घटना सार्वजनिक भएको छ । युवाहरूबाट ठगेको रकम कुम्ल्याएर अहिले लक्ष्मी फरार बनेकी छन् । कात्तिक तेस्रो साताबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरूले आवश्यक प्रमाणसहित श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका हुन् । लक्ष्मीले उनीहरूबाट जनही १ लाख रुपैयाँ लिएको पीडितहरूको भनाइ छ ।
पीडित युवाहरूको उजुरीका आधारमा कार्यालयले कारबाही अघि बढाएको छ । विदेश पठाउने नाममा ठगी धन्दा चलाएर ठूलो रकम हात पार्दै आफै विदेश भाग्न सक्ने भनेर युवाहरूले लक्ष्मीको एयरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका हुन् । उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवम् वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।
लक्ष्मीले आफ्नो बैङ्क खातामै रकम पठाउन लगाएको प्रमाण कार्यालयमा प्राप्त भएको उनको भनाइ छ । ‘वैदेशिक रोजगारीसम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितहरूको आग्रहमा एयरपोर्ट रोक्का गरिएको हो’ वरिष्ठ श्रम अधिकृत सञ्जेलले भने, ‘थप कारबाहीका लागि तत्काल अरू प्रक्रिया अघि बढाइनेछ ।’ लक्ष्मीबाट ठगिएका युवाहरू झापा, मोरङ र सुनसरीलगायतका छन् ।
पीडितहरूका अनुसार श्रीमान् रूपेश बिडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाउने विषयमा असहमति जनाउँदा श्रीमतीसँग पारिवारिक कलहसमेत उत्पन्न भएको जानकारी रूपेशले दिएको पीडितको भनाइ छ ।
पीडितमध्येका सुन्दरहरैंचा–१२ का प्रतापकुमार कोइरालाले शुरुमा आफूहरूलाई मालदिभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताए । धनकुटा घर भएका अधिकारीले रिसोर्टमा सेक्युरिटी गार्ड लगाइदिने भन्दै लक्ष्मीको बैङ्क खातामा पैसा जम्मा गरिदिनू भनेको जानकारी उनले दिए । लक्ष्मीसँग भेटघाट भएर कुरा मिलेपछि सबैले उनको सनराइज बैङ्कमा रहेको खातामा पैसा पठाइदिएको कोइरालाको भनाइ छ । मासिक सातलाख तलब पाउने गरी दुई महिनाभित्रमा मालदिभ्स पठाउने भनेर २०७५ माघमा आफूहरूसँग पैसा लिएको उनीहरूले बताए ।
लामो समयसम्म विदेश पठाउन नसकेको कुरा उठाउन थालेपछि पैसा उठाउने महिला नै बेपत्ता बनेको कोइरालाले बताए । मालदिभ्समा रहेका अधिकारी पनि अहिले सम्पर्कविहीन रहेको उनको भनाइ छ । मालदिभ्स पु¥याइसकेपछि भने तीन लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने शर्त राख्दै शुरुमा प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाइएको पीडितमध्येका सुन्दरहरैंचा–१२ का तुलबहादुर श्रेष्ठले बताए ।
अधिकारी सम्पर्कविहीन बनेको भन्दै पीडितहरूलाई लिएर लक्ष्मी काठमाडौंस्थित श्रम विभागमा समेत अधिकारीका विरुद्ध उजुरी गर्न पुगेकी थिइन् । तर विभागले अधिकारीका नाममा पैसा पठाएको कुनै प्रमाण नभएका कारण जसको खातामा पैसा पठाइएको छ, उसैलाई कारबाही हुने जवाफ दिएको पीडित कोइरालाले बताए । आफ्नो खातामा पैसा पठाउन लगाउने लक्ष्मी आफूलाई कारबाही हुने थाहा पाएर त्यहाँबाट सम्पर्कविहीन हुँदै फरार बनेको जानकारी उनले दिए ।