भद्रपुर । गाई–गोरु तस्करी नियन्त्रणमा झापा प्रहरी सक्रिय बनेपछि सिराहाका एक गाई–गोरु व्यापारीले प्रहरी विरुद्ध अदालतमा रिट हालेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिलाई विपक्षी बनाएर सिराहा बरफहवा नगरपालिका–६ का २८ वर्षीय नीरजकुमार सिंहले उच्च अदालत इलाममा रिट निवेदन दर्ता गराएका छन् ।
सोही रिटको आधारमा उच्च अदालतले १५ दिनभित्र अदालतमा हाजिर हुन झापाका एसपी दिनेशराज मैनाली र इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी मोहन थापालाई जानकारी गराएको छ । अदालतमा रिट निवेदन दर्ता गर्ने नीरजकुमार सिंहका बुबा शम्भु सिंह सिराहका ठुला गाईगोरु व्यापारी हुन् ।
गाई–गोरु भारतहुँदै बङगलादेश तस्करी गर्ने झापा जिल्ला प्रमुख नाकामा पर्छ । भारतको उत्तर प्रदेशबाट सिराहा जिल्लाका नाकाहरूबाट नेपाल भित्राइने गाई–गोरु त्यहाँबाट झापा ल्याइन्छ । झापाबाट गाई–गोरु भारततर्फ तस्करी हुन्छ । झापाका ठुला गाईगोरु व्यवसायीले फेरि पहिला जस्तै तस्करी गर्ने उद्देश्य राखेर प्रहरी कर्मचारीलाई नै विपक्ष बनाएर अदालतमा रिट हालेको बुझिएको छ ।
वैधानिक रूपमा देशभर पशु चौपायाको व्यापार गर्दै आएको दाबी गर्दै व्यापारी सिंहले गैरकानुनी रूपमा प्रहरीले चौपायामा रोक लगाएको उल्लेख छ ।
व्यापारी सिंहले दमक, दामुना, कुञ्जीवारि, सुरुङ्गा, खुदुनाबारी, चकचकी, घैलाडुब्बा, भद्रपुर, ज्यामिरगढी, काँकडभिट्टा, नकलबन्दा लगायतका नाकाबाट गाई–गोरु गैरकानुनी रूपमा भारत निकासी गर्दै आइरहेका छन् । गैर कानूनी काम रोक्न प्रहरीले जागिर अवधिभर कुनै कसुर नराख्ने जिल्लाका एसपी मैनालीले बताए । यस्ता प्रकारका रिट प्रहरीका विरुद्ध दर्ता भइरहने उनले बताए । गाइगोरु मात्र नभएर अन्य सामाग्रीको झापामा तस्करी शुन्य बनाइने उनले ठोकुवा गरे ।
झापामा प्रहरीले १५ दिनअघि सिराहाबाट ५० वटा गोरु लोड गरिएको ना ६ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रक सुरुङगाबाट नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो । त्यसैगरी, प्रहरीले झापा गाउँपालिका ४ र २ पर्ने सीमा नाकाबाट मे १ज १७६१ र प्र १–०१–००१ ज–३३८५ नम्बरको पिकअप भ्यानमा लोड गरिएको १२ वटा गाई–बाछी सोही गाउँपालिकाका हुँदै भारतको डिगलबैङ्क नाकातर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।