विराटनगर / वैदेशिक रोजगारमा पठाउने भन्दै मोरङकी एक जना महिलाले ५० जनासँग लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ ।
मालदीभ्स पठाउने नाममा मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक र बेलबारी नगरपालिका–१० दुवै ठाउँमा बसोबास गर्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ले ५० जनासँग ५० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको घटना बाहिर आएको हो ।
अहिले सम्पर्क विहीन भएकी लक्ष्मीले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गरेको उजुरी विराटनगरस्थित श्रम तथा राजगार कार्यालयमा परेपछि यो घटना सार्वजानिक भएको छ । युवाहरूसँग ठूलो रकम कुम्ल्याएर अहिले लक्ष्मी फरार बनेकी छन् । कात्तिक तेस्रो सातबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणका आधारमा श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका हुन् । लक्ष्मीले उनीहरूलाई जनही १ लाख रुपैयाँ लिएको पीडितहरूको भनाई छ ।
पीडित युवाहरुको उजुरीका आधारमा कार्यालयले कारबाही अघि बढाएको छ । विदेश पठाउने नाममा ठगी धन्दा चलाएर ठूलो रकम हात पार्दै आफै विदेश भाग्न सक्ने भनेर युवाहरुले लक्ष्मीको एयरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका हुन् । उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।
लक्ष्मीले आफ्नो बैंक खातामै रकम पठाउन लगाएको प्रमाण कार्यालयमा प्राप्त भएको उनको भनाइ छ । ‘वैदेशिक रोजगारी सम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितहरुको आग्रहमा एयरपोर्ट रोक्का गरिएको हो,’ बरिष्ठ श्रम अधिकृत सञ्जेलले भने, ‘थप कारबाहीका लागि तत्काल अरु प्रक्रिया अघि बढाइने छ ।’ लक्ष्मीबाट ठगीएका युवाहरू झापा, मोरङ र सुनसरी लगायतका छन् ।
पीडितहरुका अनुसार श्रीमान रुपेश विडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाउने विषयमा असहमति जनाउँदा श्रीमतीसँग पारिवारिक कलहसमेत उत्पन्न भएको जानकारी रुपेशले दिएको पीडितको भनाइ छ ।
पीडित मध्येका सुन्दरहरैंचा–१२ का प्रतापकुमार कोइरालाले सुरुमा आफूहरुलाई मालदीभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताए । धनकुटा घर भएका अधिकारीले रिसोर्टमा सेक्युरिटी गार्ड लगाइदिने भन्दै लक्ष्मीको बैंक खातामा पैसा जम्मा गरिदिनु भनेको जानकारी उनले दिए । लक्ष्मीसँग भेटघाट भएर कुरा मिलेपछि सबै जनाले उनको सनराइज बैंकमा रहेको खाता नम्बरमा पैसा हालिदिएको कोइरालाको भनाइ छ । मासिक सात लाख तलव पाउने गरी दुई महिना भित्रमा मालदीभ्स पठाउने भनेर २०७५ माघमा आफूहरुसँग पैसा लिएको उनीहरूले बताए । लामो समयसम्म विदेश पठाउन नसकेको कुरा उठाउन थालेपछि पैसा उठाउने महिलानै वेपत्ता बनेको कोइरालाले बताए । मालदीभ्समा रहेका अधिकारी पनि अहिले सम्पर्कविहीन रहेको उनको भनाइ छ । मालदीभ्स पु¥याइसकेपछि भने तीन लाख ५० हजार रुपैयाँ तिर्नु पर्ने सर्त राख्दै सुरुमा प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाइएको पीडित मध्येका सुन्दरहरैंचा–१२ का तुलबहादुर श्रेष्ठले बताए । अधिकारी सम्पर्कविहीन बनेको भन्दै पीडितहरुलाई लिएर लक्ष्मी काठमाडौंस्थित श्रम विभागमा समेत अधिकारीका विरुद्ध उजुरी गर्न पुगेकी थिइन् । तर विभागले अधिकारीका नाममा पैसा पठाएको कुनै प्रमाण नभएका कारण जसको खातामा पैसा पठाइएको छ उसैलाई कारबाही हुने जवाफ दिएको पीडित कोइरालाले बताए । आफ्नो खातामा पैसा पठाउन लगाउने लक्ष्मी आफूलाई कारबाही हुने थाहा पाएर त्यहाँबाट सम्पर्कविहीन हुँदै फरार बनेको जानकारी उनले दिए ।