भद्रपुर । स्थानीय जनताको यातायात सहजका लागि मेची नदीमा निर्माण गरिएको अस्थायी बाँसे पुल गएराती जलाउने प्रयास गरिएको छ । नेपाल–भारत जोड्ने सीमावर्ती नाकामा पर्ने मेची नदीमा बनाइएको अस्थायी बाँसे पुल जलाउने प्रयास गरिएको हो । पुलदेखि भारतीय भूमि ५ सय मिटर दुरीमा पर्छ ।
१०९ नम्बर सीमा पिलर रहेको भद्रपुर नगरपालिका ३ स्थित भैसाबाडी नाकामा पर्ने मेची नदीमा ३ नम्बर वडा कार्यालयको समन्वयमा भैसाबाडी टोल विकास समितिले स्थानीयबाट आर्थिक सङ्कलन गरी बनाइएको थियो ।
बाँसे पुलको बिच भागमा आगो लगाएको प्रहरी कार्यालय झापाका डिएसपी डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगोबाट पुलको केही बाँसका भाटा मात्र जलेको उनले जनाए । पूर्ण रूपमा क्षति नभएको उनको भनाइ छ । पुलमा आगो कसले किन लगाएको हो भन्ने बारेमा सीमा प्रहरी चौकी पृथ्वीनगरले अनुसन्धान गरिरहेको जनाइएको छ ।
भैसाबाडी टोल विकास समितिका निमलाल गणेश र पल्टन गणेशको नेतृत्वमा नदीमा बाँसे पुल बनाइएको हो । पुल बनाउन सोचे भन्दा बढी बजेट लागेकोले पुल तर्न स्थानीयबाट शुल्क उठाउने गरिएको छ । समितिले ५ देखि २० रुपैयाँसम्म शुल्क लिने गरेको स्थानीय बताउँछन् । ३ नम्बर वडा अध्यक्ष कमला थुलुङका अनुसार पुल जलेको हो । तर, कसले जलाएको भन्ने केही खुलेको छैन । ‘गाँजा खान जाने केटाहरूले आगो बाल्दा जलेको हुनुपर्छ’, उनले भनिन् ।
पुलमा पैसा उठाउन थालेपछि व्यक्तिगत रिसीबले पनि आगो लगाउन खोजिएको हुन सक्ने स्थानीयको आरोप छ । घटना पछि सशस्त्र प्रहरी बल झापा २ नम्बर गणका एसपी रेसमकुमार थक्सू, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ,स्थानीय, वडा अध्यक्ष लगायतले स्थलगत अनुगमन गरेर घटनाका बारेमा जानकारी लिएका थिए । पुल वनाउनेको बीचमा आपसी कलहका कारण आगो लगाएको हुनसक्ने सशस्त्रका एसपी थक्सूले अनुमान लगाएका छन् । जानकारी पाउँने वित्तिकै घट्ना स्थल पुगेका थक्सूले सामान्य भएको जानकारी दिएका छन् ।