इटहरी/ बुधबार राति इटहरी–१ स्थित हलगडामा कुुकुरको क्रुर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालयले तीनजनालाई पक्राउ गरेको छ ।
उनीहरूले खुकुरी आतङ्क मच्चाएर घरपालुवा कुकुरको हत्या गरेका थिए । स्थानीय मोहन विश्वकर्माको घरमा पालेको जर्मन सेफर्ड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरूले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए ।
कुकुर हत्याको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले सन्दीप राई, विशाल माझी र मनोज भण्डारीलाई पक्राउ गरेको हो । मोहनका छोरा आयुषसँग कुकुर डुलाउँदा एक युवासँग विवाद हुँदा सोही विषयलाई लिएर घरमा ती युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका थिए ।
बुधबार राति ७ बजेको समयमा खुकुरी, छुरा र कट्टी बोकेका युवाहरूले घरभित्र रहेका आयुषमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । तर छोराले ढोका थुनेर ज्यान जोगाउन सफल भएको बताउँदै बुबा मोहनले पछि आक्रोसित युवाहरूले बाँधेर राखेको कुकुरमाथि जथाभावी धारिलो हतियार प्रहार गरी कुकुरको हत्या गरेको प्रहरीले बताएको छ ।