भद्रपुर/ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिएको दुई दिन बित्न नपाउँदै झापा प्रहरीले बुधबार राति दुई वटा बोलेरो पिकअप भ्यानसहित चौपाया नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको टोलीले झापा गाउँपालिका ४ र २ को सीमा नाकाबाट बुधबार राति १२ वटा गाई र बाछी लोड गरिएको अवस्थामा बोलेरो भ्यान नियन्त्रणमा लिइएको छ । मे १ ज १७६१ र प्र १–०१–००१ ज–३३८५ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिइएको झापा जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले गाई बाछीसहित नियन्त्रणमा लिएको पिकअप भ्यान र चालकद्धय मोरङ मिक्लाजुङ्ग गाउँपालिका–४ का ३६ वर्षीय पदम खत्री र झापा कमल गाउँपालिका–४ का २८ वर्षीय मिलन लिम्बू पक्राउ गरी भद्रपुर भन्सार कार्यालय बुझाएको छ ।
भन्सार कार्यालयले गाई बाछी लिलाम गरिसकेको भन्सारका नायव सुब्बा विकास दाहालले जानकारी दिए । चालकद्वयलाई ६२ हजार रुपैयाँका दरले धरौटी रकम लिएर छाडिएको उनले बताए । कात्तिक १० गते केचना नाकाबाट भारततर्फ गइरहेको एउटा पिकअप भ्यानसहित ५ वटा गोरु नियन्त्रणमा लिएको थियो ।