पाँचथर/ जिल्लाको याङ्वरक गाउँपालिका–२ फलैंचामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै मानसिक तथा शारीरिक यातना दिइएको छ । सोही स्थानकी पूजा भारतीलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको पीडित पूजाले बताइन् ।

ससुरा कान्तप्रसादले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर आफूलाई निर्घात कुटपिट गरेको पूजाले सुनाइन् । फलाम आगोमा तताएर डाम्न खोजेपछि फुत्किएर भागेर माइतीको शरणमा पुगेको पूजाको भनाइ छ । फलाम तताएर डाम्नका लागि महेन्द्रप्रसादले आफूलाई समाइरहेको बेला आफू फुत्किएर भागी ज्यान जोगाउन सफल भएको उनले बताइन् ।

पूजामाथि भदौ ३१ गते राति कुटपिट र डाम्ने प्रयास भएको हो । धामीझाँक्रीको कामसमेत गर्ने पूजाका ससुरा कान्तप्रसादले ‘तँ बोक्सी होस्, मेरो छोरोलाई खान लागिस्’ भन्दै यातना दिएको पूजाले सुनाइन् । सोही रात नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिए पनि प्रहरीले आफूलाई यातना दिनेलाई पक्राउ नगरेको पूजाको गुनासो छ ।

पछि प्रहरीले बिना जाहेरी कारबाही गर्न नमिल्ने बताएपछि २७ असोजमा जाहेरी दिएको पीडित पक्षको भनाइ छ । तर हालसम्म पीडक पक्राउ पर्न सकेका छैनन् । बोक्सीको आरोपमा घरपरिवारबाट लामो समयदेखि मानसिक तथा शारीरिक यातना भोग्दै आएको पूजाको भनाइ छ । श्रीमान् तेजप्रकाशले पनि बाबुआमाकै कुरा सुनेर आफूलाई बेवास्ता गरेको पूजाको दुःखेसो छ ।

यता पाँचथर प्रहरी प्रवक्ता अनिलकुमार पौडेलले भने आरोपितहरू फरार रहेको र खोजी कार्य भइरहेको बताए । पीडित पूजा अहिले हिलिहाङ गाउँपालिका–३ कुर्लुम्बास्थित माइतीघरमा बस्दै आएकी छन् । तेजप्रकाश र पूजाको एक वर्षीय छोरीसमेत रहेकी छन् । छोरी पूजाकै साथमा छिन् ।