इटहरी/ प्रहरीले सक्रियता बढाएको बताए पनि सुनसरीमा हत्या, कुटपिट, छुरा प्रहार र आक्रमणका घटना भइरहेका छन् ।

पुराना हत्या घटनामा संलग्नलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन । अघिल्लो आर्थिक वर्षमा दुई मुस्लिम अगुवाको हत्यापछि सुनसरी क्षेत्रमा प्रहरीले उच्च निगरानी बढाएको थियो । निगरानीको क्रममा सीमाक्षेत्रमा एक भारतीय नागरिक मुठभेडका क्रममा मारिएका थिए । मुस्लिम अगुवा खुर्सिद आलम अन्सारीको हत्यारा अहिलेसम्म पत्ता लागेको छैन भने फिदा हुसेनको हत्यारालाई भने प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

अघिल्लो वर्ष असोज ४ गते हरिनगर–२ भुटाहाका खुर्सिदको हत्या भएको थियो भने मङ्सिर ३ गते दुहबीका व्यवसायी फिदा हुसेनको हत्या भएको थियो । खुल्ला सिमानाका कारण पनि सुरक्षा थ्रेट बढेको प्रहरी नै बताउँछ । प्रदेश एकका १४ जिल्लामध्ये सबैभन्दा बढी हत्या, लुटपाट, चोरी, बलात्कारजस्ता जघन्य अपराध हुने प्रहरी प्रतिवेदनले देखाएको छ । यता सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले खुल्ला सिमानाका कारण सुनसरीमा केही समस्या भएको बताउँछन् । वैदेशिक रोजगार र खुल्ला सिमानाकै कारण सुनसरीमा हत्याको घटना बढेको डिएसपी विनोद शर्माको तर्क छ ।

सुनसरीमा २०७२/०७३ मा ११ वटा हत्या घटना भएका थिए । त्यस्तै २०७३/०७४ मा २२ जनाको हत्या भयो भने २०७४/०७५ मा पनि २२ जनाको हत्या भएको प्रहरी तथ्याङ्कले देखाउँछ । त्यस्तै गत आर्थिक वर्ष २०७५/०७६ मा ३० जनाको हत्या भएको थियो । चालू आर्थिक वर्षको अहिलेसम्म ५ जनाको हत्या भइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी शर्माले बताए ।

उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल सुनसरीमा हत्या र जघन्य अपराध बढेको बताउँछन् । आपराधिक गतिविधि बढिरहेको भन्दै सुनसरीको शान्तिसुरक्षा बलियो बनाउन माग गरे । उनले मुख्यमन्त्रीसँग सुनसरीमा आपराधिक घटना बढेको गुनासो गरेका थिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीका एसपी यज्ञविनोद पोखरेललाई शान्तिसुरक्षा बलियो बनाउन निर्देशन दिएका थिए । पछिल्लो समय सुनसरीमा अपराध बढिरहेको भन्दै मुख्यमन्त्री राईले अपराध नियन्त्रणमा लाग्न एसपी पोखरेललाई निर्देशन दिएका थिए ।

सुरक्षाका दृष्टिले पनि सुनसरी अति संवेदनशील जिल्लामा सूचीकृत छ । सुनसरीमा ६६ किलोमिटर सीमा क्षेत्र छ । सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ९ वटा बोर्डर आउट पोष्टहरू स्थापना गरिएको छ । जिल्लाको भण्टाबारी, जमुवा, लौकही, घुस्की, वसन्तपुर, कप्तानगञ्ज, रामनगर भुटाहा, अमडुवा र साहेवगञ्जमा बोर्डर आउट पोष्टहरू छन् ।

तर प्रहरीको उपस्थिति भने दयनीय छ । जिल्लामा ४१ वटा युनिट रहेकोमा जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरी चौकीसम्म कतै पनि पर्याप्त जनशक्ति देखिँदैन । पहिला थोरै जनसङ्ख्या हुँदा जति दरबन्दी कायम गरिएको थियो, अहिले पनि त्यही अवस्थामा छ । ९ सय ४९ जना प्रहरीको दरबन्दी रहेको सुनसरीमा एक जना प्रहरीले ८ सय ३० जनाको सुरक्षा गर्नुपर्ने जिम्मेवारी छ ।