धरान/धरानको सर्दु खोलाबाट अवैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेको अवस्थामा ट्याक्टर पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा क्याम्प फुस्रे धरानले सोमबार साँझ को १ त ६९०५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । उक्त ट्याक्टर डिल्लीशेर राई सञ्चालक रहेको चाम्लिङ ढुवानी सेवाको रहेको सशस्त्र प्रहरी बलका डिएसपी राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ट्याक्टरका चालक १६ वर्षीय उपेन राई भने फरार रहेका छन् । ट्याक्टरमा ढुङ्गा लोड भएको अवस्थामा भेटिएको छ ।

धरान-११ र १७ मा पर्ने विष्णुपादुका जाने बाटोमा निर्माण हुँदै गरेको पुलको ५० मिटर मुनी नै ढुङ्गा लोड गरिरहेको अवस्थामा भेटिएको डिएसपी श्रेष्ठले बताए । सइ नरबहादुर राईको नेतृत्वमा खटिएको टोलीले पक्राउ गर्न सफल भएको थियो । प्रहरीलाई देख्नेबित्तिकै फरार भएका उनीहरू केहीले भने ट्याक्टर पञ्चर गराएको डिएसपी श्रेष्ठले बताए । यसअघि पनि अवैध रूपमा उत्खनन् गरिरहेको समयमा पक्राउ गरी स्थानीय सरकारलाई बुझाइएको थियो । पहिलो पटक भन्दै स्थानीय सरकारले १० हजार रुपैयाँ जरिवाना गरेर छाडेको थियो ।

दोस्रो पटक पनि भेटिएपछि २५ हजार रुपैयाँ जरिवाना गर्ने प्रावधान बनाएको छ । स्थानीय सरकारले अनाधिकृत रुपमा प्राकृतिक स्रोतसाधन उत्खनन् तथा दोहन गरेको पाइएमा पहिलो पटकलाई १० हजार र दोस्रोपटकमा घटनाको प्रकृति हेरेर २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान गरेको छ । चाम्लिङ ढुवानी सेवाको हकमा भने २५ हजार रुपैयाँ जरिवाना गरिएको जानकारी आफूलाई प्राप्त भएको डिएसपी श्रेष्ठले बताए ।