विराटनगर/ प्रहरीले जीवन विकास लघुवित्त संस्थाका कर्मचारीसहित दुई जनालाई हतियारसहित पक्राउ गरेपछि उनीहरूकोे ‘कनेक्सन’ अवैध हतियारको कारोबार गर्ने गिरोहसँग देखिएको छ ।
उदयपुरको रामपुर ठोक्सिलास्थित जीवन विकास लघुवित्त संस्थामा फिल्ड सहायकको रूपमा कार्यरत मोरङ धनपालथान गाउँपालिका–७ कदमाहाका २८ वर्षीय मुकेशकुमार मण्डल र कटहरी गापा–२ का सुरज भन्ने बिक्कीकुमार भगतलाई मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि अवैध हतियारको कारोबार गर्ने केही भारतीय र नेपाली गिरोहसँग मण्डल र भगतको ‘कनेक्सन’ देखिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । ‘प्रारम्भिक चरणको अनुसन्धानबाट लघुवित्त संस्थाका कर्मचारी मण्डलले बरामद गरेको हातहतियार र गोली सहनीलाई उपलब्ध गराएको खुलेको छ’ एसपी अधिकारीले भने, ‘हतियारसहित पक्राउ परेका अभियुक्तहरूको कनेक्सन केही भारतीय हतियारको कारोबारीसँग पनि हुने गरेको देखिएको छ ।’ केही नेपालका र भारतमा रहेर अवैध हतियारको कारोबार गर्नेसँग उनीहरूले सम्बन्ध स्थापित गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको हो । कनेक्सन देखिएको अवैध हतियार कारोबारीको पनि प्रहरीले खोजी कार्य तीव्र बनाएको एसपी अधिकारीले जानकारी दिए ।
यसरी पक्राउ परे
छठ पूजाको अवसर पारेर कटहरी गापा–१ सिङ्घिया खोलापूर्व आयोजना गरिएको साँस्कृतिक कार्यक्रमबाट शनिबार राति प्रहरीले भगतलाई एक थान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने २ थान म्यागजिन र लोड गरिएको अवस्थामा १ राउण्ड गोलीसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । ‘साँस्कृतिक कार्यक्रम भइरहेको बेलामा उच्छृङ्खल गतिविधि गर्ने समूहले ढुङ्गा प्रहार गरेको थियो । ड्युटीमा खटिएको प्रहरी टोलीले तत्काल केही व्यक्तिलाई नियन्त्रणमा लिएर शरीर खानतलासीको क्रममा भगतको साथबाट पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको हो’ –एसपी अधिकारीले भने ।
प्रहरीले भगतलाई पेस्तोलसहित पक्राउ गरेपछि उनकै बयानका आधारमा आइतबार राति मोरङको कदमाहाबाट लघुवित्त संस्थाका फिल्ड सहायकको रूपमा कार्यरत मण्डललाई पक्राउ गरिएको हो । पक्राउ परेका मण्डल छठ पर्वको बिदा मनाउन घर आएका थिए । पक्राउ परेका अभियुक्तहरूसँग थप अनुसन्धान गर्दै आएको एसपी अधिकारीले बताए । ‘हामीले सबै कोणबाट विश्लेषण गरी अनुसन्धान गर्दै आएका छौं’ एसपी अधिकारीले भने, ‘अभियुक्तहरू अन्य आपराधिक क्रियाकलापमा पनि संलग्न भएका हुन सक्छन् । ती सबै घटनाक्रमलाई मध्यनजर गर्दै विस्तृत अनुसन्धान शुरु गरेका छौं ।’
पक्राउ परेका दुवैलाई प्रहरीले मुलुकी फौजदारी अपराध ऐन २०७४ बमोजिम अदालतमा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । धरानमा जेठ १२ गते जीवन विकास संस्थाकै शम्भुप्रसाद गच्छदारलाई गोली हानी धरान–५ साउनेमा तीनजनाको समूहमा आएका युवाहरूले लुटपाट गरेका थिए । उक्त घटनामा संलग्न हालसम्म पक्राउ पर्न सकेका छैनन् ।