धरान / धरानमा लामो समय फिल्म, सङ्गीत र कला क्षेत्रमार्फत् सांस्कृतिक आन्दोलनमा सक्रिय मौसम इम्बुङ लिम्बू बीचमा सात वर्षअघि अचानक हङकङतिर लागे । धेरैले कुरा पनि काटे, ‘मौसम पलायन भए’ भनेर । धरानमा रहँदा फिल्मी पर्दामा विशेषगरी लिम्बू समुदायका कथा, भाषा, संस्कृति देखाउन, सुनाउन तल्लिन मौसमले लिम्बू भाषाका दर्जनौं भिडियो बनाए ।

लिम्बू भाषा र संस्कृतिका केही फिल्म बनाए । उनले पिकनिक, छिमेकी, चेसुङ लगायतका फिल्ममा काम गरे । निर्देशन गरे, अभिनय गरे र आवश्यक पर्दा फिल्मका पोष्टर टाँसेनन् कि, सिडी बेचेनन् कि । के पो गरेनन् होला । आर्थिक उपार्जन नभए पनि उनमा आफ्नो संस्कृतिको माया थियो । भाषा र संस्कृतिको सेवा गर्ने उत्कट उत्साह थियो । उनै संस्कृति प्रेमी मौसम अचानक हङकङ भासिएपछि ‘पलायन’ भएको कुरा काटिनु सामान्य नै थियो ।

मौसम हङकङ पुग्नुको कारण मुख्यतः आर्थिक उपार्जन नै थियो तर उनी त्यहाँ पनि एकोहोरो पैसा कमाउन मात्र लागेनन् । बरु हङकङको त्यो व्यस्त दैनिकी बीच पनि समय व्यवस्थापन गरेर उनी सांस्कृतिक आन्दोलन अर्थात् उही कलाकर्ममा लागे । शुरुका केही वर्ष मौसमका फिल्म र भिडियो खासै आएनन् । तर, उनी हङकङ पुगेपछि अर्को नयाँ प्रतिभा प्रदर्शन गरे, फुलेन्देको बाउका रूपमा । उनले लिम्बू टोनमा बोलेका कुराको अडियो क्लिप्सहरू भाइरल बने ।

विस्तारै उनी फुलेन्देको बाउका रूपमा भिडियो र स्टेज कार्यक्रमहरूका देखिन थाले । उनले फुलेन्देको बाउ पात्र जन्माएपछि अरू पात्र पनि जन्मिए फुलेन्देकी आमा, फुलेन्देको फुपू लगायत । तर, पछिल्लो समय मौसम भने ‘फुलेन्देको बाउ’ बनेर क्यारिकेचर गर्नुको साटो म्युजिक भिडियो र फिल्ममा पुन सक्रिय बने । सात वर्ष हङकङमा फुर्सदमा कलाकर्म गर्दै आर्थिक उपार्जनमा लागेका उनी यसपटक केही समय सुस्ताउन आफ्नै मातृभूमि आइपुगे ।

करिब १० महिनाको नेपाल बसाइमा उनले नयाँ फिल्म जन्माए, ‘घरजम’ । त्यही आफ्नो नयाँ सन्तान लिएर उनी पुनः हङकङ पुगेका छन् । हङकङमा घरजम प्रदर्शन भएपछि दर्शकहरूले ‘अर्गानिक फिल्म’ भन्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । उनको अनुभव छ, ‘सात वर्षअघि र अहिले नेपाली फिल्म क्षेत्रमा प्राविधिक विकास भएर, लगानी पनि बढी लाग्ने भएछ । घरजममा केही नयाँ काम गर्ने प्रयास गरेको थिएँ, दर्शकले मन पराइदिनुभयो, खुसी छु ।’ दशैं तिहारको बीचमा पूर्वका हलहरूमा घरजम प्रदर्शन गर्ने योजनामा छन् मौसम । बुद्धि तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, हेमराज अङछ्वो, रवि शेर्मालगायतका कलाकारले अभिनय गरेको फिल्ममा उपेन्द्र सुब्बाको कथा, पटकथा छ ।

फिल्मले लिम्बू समुदायको मौलिक कथा भन्ने निर्देशक मौसमको दाबी छ । एकदशक अघि नै मौसमले ‘द ब्रोकन विङ्स्’ नामको फिल्ममा नायकका रूपमा अभिनय गरेका थिए । फिल्ममा बेलायत पलायन हुने परिवारको देशभक्त छोराको कथा थियो । परिवारका सबै सुख सयलका लागि नेपाल छाडेर बेलायत गए पनि पेन्टिङमा ध्यान दिने एउटा छोरो देशको मायाले बेलायत जान मान्दैन । मौसमको जीवनमा भने त्यो फिल्ममा गरेको अभिनयभन्दा अलिकति फरक कथा छ ।

उनी आर्थिक उपार्जनका लागि हङकङ गए तर कलाकर्मलाई माया मार्न सकेनन् अनि आफ्नै गाउँघरको कथा भुल्न सकेनन् । उनी भन्छन्, ‘हाम्रा समुदायका यस्ता धेरै कथा अरूलाई सुनाउनै बाँकी छ । त्यसैले जहाँ बसे पनि यो क्षेत्र छाड्न सक्दिन । त्यसैले घरजम लिएर आएको हुँ ।’