विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् ।
नकेपा मोरङले विराटनगरमा शुक्रबार आयोजना गरिएको शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले आफु ओरजिनल मशाल र माओवादी नभएको बताए ।
‘तपाइहरूलाई ओरिजिनल नै होला जस्तो लागेको थियो होला,’ प्रचण्डले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘म पनि चौथो माधिवेशनको मदन भण्डारी नै हो ।’ २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएको र २०३३ सालमा पुष्पलाल समूह छोडेर चौथो महाधिवेशन मोहन विक्रमले नेतृत्व गरेको समूहमा आफु प्रवेश गरेको प्रचण्डले बताए । ०४१ को महाधिवेशनबाट केन्द्रीय समितिमा गएको भन्दै उनले भने, ०४६ को जनआन्दोलन भन्दा ठिक्क अगाडि जतिबेला मदन भण्डारी मालेको महासचिव हुनुभयो, म पनि मसालको महासचिव भएछु ।
के संयोग हो ? यो भन्दा धेरै म केही भन्दिनँ ।’
मालेको महासचिव भएपछि मदन भण्डारीले मनमोहन अधिकारीहरुसँग एकता गरेर एमाले बनाएको र आफूले पनि निर्मल लामाहरुलाई ल्याएर एकता केन्द्र बनाएको उनले सुनाए । ‘कोअर्डिनेशन केन्द्रको नभए पनि मदन भण्डारीलाई आत्मसात गर्न त्यतिबेलाको मालेले कुनै सङीर्णता देखाएन । तत्कालीन मसालले २०४३ सालमै सशस्त्र सङर्षको थालनी गर्ने तयारी गरेको थियो । तर सेक्टर काण्डपछि सशस्त्र सङर्षको योजना विफल भएको उनले बताए ।
२०४६ सालअगाडि नै सशस्त्र संघर्ष गर्ने मसालको तयारी थियो । त्यतिबेला मैले अहिले सशस्त्र सङर्ष गर्ने बेला होइन, लट्ठीले घोचेर सिसा फुटाएर क्रान्ति हुँदैन भन्ने तर्क गरेँ,’ उनले भने । त्यतिबेलै हातहतियार जम्मा गरेको बताउँदै आफू महासचिव भएपछि केन्द्रीय समितिको पहिलो बैठकले जम्मा भएका हतियार ओढारमा हालेर शान्तिपूर्ण सङर्षमा जाने निर्णय आफुले गरेको उनले बताए ।
उनले दिमाग आफूमा र मदन भण्डारी दुवैमा रहेको त्यतिबेला दुवै जनाले कम्युनिस्ट पार्टीलाई एकतावद्ध बनाउन प्रयत्न थालेको बताए । ‘२०४६ सालको परिवर्तनपछि तत्कालीन माले नेकपा एमाले बन्यो । तत्कालीन नेकपा मसाल नेकपा एकताकेन्द्रमा रूपान्तरित भयो । मदन भण्डारीले त्यतिबेला बडो उदारतापूर्वक फिप्टी–फिप्टी दिएर भए पनि पार्टी एकता गर्नुपर्छ । मनमोहन अधिकारीको व्यक्तित्व ल्याउनुपर्छ भन्नेमा लाग्नुभयो । म पनि निर्मल लामा, मोहन विक्रम, रूपलाल विश्वकर्मा यी सबैलाई ल्याएर कम्युनिस्ट पार्टी एकता गर्नुपर्छ भन्नेतिर लागेँ,’ उनले भने ।
कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकतालाई आँखाको नानिजस्तो बनाएर राखिनुपर्ने पनि बताए । उनले पार्टी बलियो पार्न सकेमात्र जनताले चाहेको समृद्धि हासिल गर्न सक्ने उनको भनाई थियो । कम्युनिष्टलाई कमजोर पार्ने र नेताहरुलाई फुटाएर झगडा लगाउनेहरु दाउ खोजेर बसिरहेको उनले बताए । कम्युनिष्टलाई कमजोर पार्ने र फुटाउने उनिहरुको धर्म नै भएको बताउँदै उनले त्यसमा रिसाउनु भन्दा एकताबद्ध ढंगले अगाडि बढ्न आग्रह गरे ।
पार्टी भित्र समस्या देखिनासाथ एकता बेक्कार गरिएछ भनेर सोच्नु देश र समग्र पार्टीकालागि दुर्भाग्य हुने बताउँदै उनले पार्टी एकताको रक्षामा लाग्नुपर्नेमा जोड दिए । पार्टी सुध्रिण गर्ने अगाडि बढाउनु नेकपा नेता कार्यकर्ताहरुको साझा दायित्व भएको उनले बताए ।
कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्वाचनका बेला व्यक्त गरिएका प्रतिबद्धता पुरा गरिने बताए । चार माध्यममा जतिसुकै असन्तुष्टिका कुरा आएपनि त्यसले पार्टी एकतालाई प्रभाव नपार्ने बताए । कम्युनिष्टहरु नमिलुन, एकताबद्ध नहुन भनेर सत्तो सराप गर्नेहरु देश र देश बाहिर पनि रहेको बताउँदै उहाले त्यस्ता शक्तिहरुको मनसायलाई मलजल पुग्ने अभिव्यक्ति नदिन उनले आग्रह गरे ।