विराटनगर/ प्रदेश १ को राजधानी रहेको शहर विराटनगर महानगरपालिका जोडिने कृषि सडक ‘पुष्पलाल चौक–गछिया’ कालोपत्र हुने भएको छ ।
सङ्घीय सरकारले नै सडक निर्माण गर्न लागेको हो । २३ दशमलव ७ सय किलोमिटर सडक लुम्बिनी–मृत सञ्जीवनी जेभी काठमाडौंसँग सम्झौता भएको हो । ५२ करोड २४ लाख ७३ हजार ७ सय २२ रूपैयाँको लागतमा सडक निर्माण हुन लागेको हो । २०७६ असोज २ गते सम्झौता भएको ग्रामीण सञ्जाल सुधार आयोजना अन्तर्गतको पुष्पलाचौक–गछिया सडक २०७८ सालमा निमार्ण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आइतबार सडकको शिलान्यास गरे । दशैँ लगतै पुष्पलाल चौक–गछिया सडकको निर्माण कार्य शुरु हुने आयोजनाका व्यवस्थापक शम्भु कार्कीले जानकारी दिए । उनका अनुसार कालोपत्रे हुने सडकको चौडाइ ५ दशमलव ५ मिटर रहेको छ ।
सडकको शिलान्यास गर्दै मन्त्री पण्डितले ग्रामीण भेगमा पर्ने पुष्पलालचौक–गछिया सडक नमूना सडक बन्ने बताए । ठेक्का लिएको निमार्ण कम्पनीले सम्झौता गरेको समयसीमामा नमूना सडक बनाएर सरकारलाई हस्तान्तरण गर्न मन्त्री पण्डितले विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कृषि सडक दीर्घकालीन महत्व बोकेको सडक भएकोले गुणस्तरीय बन्नुपर्ने बताए । सङ्घीय सांसद् अमनलाल मोदीले यो सडक दीर्घकालीन महत्वको सडक भएको बताए । कार्यक्रममा बूढीगङ्गा गाउँपालिका अध्यक्ष बालचन्द माझीले गुणस्तरीय सडक निर्माणमा सबैले खबरदारी गर्नुपर्ने बताए ।
































