धरान/ भेडेटारको मौसम त्यसै पनि चिसो । शुक्रबार दिनभरको वर्षाले चिसोका मात्रा झनै बढेको थियो । रात परेपछि भने भेडेटार थुम्कीको माहोल तात्तिन थाल्यो ।

चर्चित गायिका मेलिना राई पहिलो पटक भेडेटारमा गाउन आउने चर्चाले स्थानीय मात्र होइन्, टाढाका दर्शक÷श्रोता पर्खिरहेका थिए । मेलिनाका गीत प्रत्यक्ष सुन्न थुम्कीस्थित भेडेटार भिलेज रिसोर्टमा जम्मा भएका दर्शक मेलिनाकै पर्खाइमा थिए । रात छिप्पिन थालेपछि मात्र कार्यक्रम शुरु भयो ।

साङ्गीतिक प्रस्तुतिको शुरुवात रिसोर्टकै सञ्चालिका पद्मिनी राईले गरिन् । गायिका समेत रहेकी पद्मिनीले दुई गीत प्रस्तुत गरेपछि साङ्गीतिक माहोल तात्तिन थाल्यो । भेडेटारकै अर्की गायिका प्रेमा मगर र जितु रानाले पनि गाए भने निका मोक्तानले मेलिनाकै गीतहरूमा नृत्य प्रस्तुत गरिन् । त्यसपछि आयो मेलिनाको पालो ।

मेलिना स्टेजमा चढ्दा दर्शक/श्रोताहरूले हुटिङ शुरु गरिहाले । मेलिनाले आफ्ना चर्चित गीतहरू सुनाइन् । मेलिनासँगै दर्शकले पनि गाएर र नाचेर साथ दिए । मेलिनाले चर्चित गीत कुटुमा कुटुदेखि रातो टीका निधारमासम्म गाउँदा कार्यक्रममा उपस्थित दर्शकहरू दिल खोलेर नाचे । दशैंको अवसर पारेर रिसोर्टले आयोजना गरेको कार्यक्रममा रिसोर्टका सञ्चालक तथा होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले मायाको चिनो प्रदान गरे ।