ताप्लेजुङ/ फुङ्लिङ बजारको तोक्मेडाँडा हटियादेखि बुद्धचोक घुम्तीसडकको कालोपत्रे एक महिना नपुग्दै भत्किएको छ ।

ठेकेदारको लापरबाहीका कारण आठसय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे उप्किएको हो । ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै भुक्तानी लगिसकेका छन् । भत्किएको देखी–देखी सघन शहरी तथा भवन निर्माण आयोजना झापाले अनुगमन गरेर पास गरेको स्थानीयको गुनासो छ । मैनाचुली निर्माण कम्पनीले गत असारमा पिच र ढलान गरेको थियो । ‘असारे झरीमा रात–दिन नभनी कालोपत्रे गरे’ सडकछेउमा घर भएका विवेक बानियाँ भने, ‘उतिबेलै भत्कन थालेको थियो ।’ सो सडकमा जोडिएको अधिकांश सोलार बत्तीसमेत बल्न छाडेको उनले बताए ।

निर्माण कम्पनीले मात्रा नमिलाइकन काम गरेकाले भत्किएको फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन चेम्जोङले बताए । ‘पिच धेरै कमसल छ’ चेम्जोङले भने, ‘२० सेन्टिमिटर गिट्टीको बेस नै छैन, त्यसैले भत्किएको हो ।’ निर्माण व्यवसायीले स्थानीय तहसँग समन्वय नै नगरी काम गरेको चेम्जोङले बताए । बारम्बार भेटेर कुरा गर्न खोज्दा सम्पर्कमै नआएको चेम्जोङले गुनासो गरे । ठाउँ–ठाउँमा पहिरो खसेर नाली र सडक नै पुरेको छ । ‘सडकमा सिधै भलको पानी पस्छ र जम्छ, त्यहाँमाथि गाडी कुदेपछि भत्कन थाल्छ’ स्थानीय विवेक राई भन्छन्, ‘यस्तो पनि पिच हुन्छ, कम से कम भलको पानी नालीबाट कट्नुपर्ने होइन र ?’ १५ महिनामा सक्ने गरी २०७४ असारमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ठेक्का लगाएको थियो ।

कार्यालयहरूको पुनर्संरचनापछि केन्द्रले सघन शहरी तथा भवन निर्माण आयोजना झापालाई जिम्मा दियो । सम्झौतामा निर्माण कम्पनीले ३ करोड ७ लाखमा पिच गर्ने, केही स्थानमा ढलान गर्ने र ३५ वटा सोलार बत्ती जडान गर्नुपर्ने उल्लेख रहेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ । ठेकेदारले काम गुणस्तरहीन गरेको भन्ने आफूले जानकारी पाएको आयोजनाका इञ्जिनियर विनोद सिंहले बताए । ‘त्यो सडकको विषयमा यहाँ चिठी आएको छ’ सिंहले टेलिफोनमा भने, ‘भदौ १३ गते निर्माण व्यवसायीलाई यथार्थ जानकारी दिन पत्र काटिसकेका छौं ।’ साइट हेर्ने इञ्जिनियर सरुवा भएको र नयाँ भर्खर आएकाले अनुगमन गर्न बाँकी नै रहेको उनले बताए । सिंहका अनुसार निर्माण कम्पनीले कुल रकमको ५ प्रतिशत भुक्तानी लिन बाँकी छ ।

अनुगमनको क्रममा त्रुटी भेटिए तुरुन्त मर्मत गर्न लगाउने उनले बताए । स्थानीय भने पुनः कालोपत्रे गर्न लगाउनुपर्ने बताउँछन् । ‘सडकको पूरै भाग कामै नलाग्ने छ’ स्थानीय गौतमले भने, ‘मर्मत मात्रै गर्दा हुँदैन, पुनः शुरुबाटै गर्न लगाउनुपर्छ ।’ निर्माण व्यवसायी टङ्क अधिकारी भने स्टिमेट अनुसारकै काम गरेको दाबी गर्छन् । ‘प्राविधिक र नगरपालिकाको प्रतिनिधिसहितलाई राखेर काम गरेको हुँ’ उनले भने, ‘राम्रो फिनिसिङ नभइकनै गाडी कुदाइदिए, त्यही भएर केही ठाउँमा समस्या भयो ।’