इनरुवा / २०७५ पुस २५ गते इनरुवास्थित नयाँ बस पार्कमा निकै तामझाम थियो । कालिका कन्स्ट्रक्सनले ठेक्का अवधि सकिनुभन्दा दुई सय दिन अगाडि नै काम सकेको भन्दै नयाँ बसपार्कमा भएको सडक हस्तान्तरण कार्यक्रममा सहरी विकासमन्त्री मोहमद इस्तियाज राईले निर्माण कम्पनीलाई पुरस्कृतसमेत गरेका थिए । सहरी विकासमन्त्रीले प्रदान गरेको पुरस्कार कालिका कन्स्ट्रक्सनका सोही परियोजनाका प्रोजेक्ट मेनेजर उज्ज्वल प्रसाईंले ग्रहण गरे ।
तर सडक बनाएर नगरपालिकालाई हस्तान्तरण गरेको एक बर्ष नवित्दैं खाल्डा पर्न थालेको छ । नेपालकै ठूलो केठेदार कम्पनि कहलिएको कालिका कन्ट्रक्सन प्रालिले बनाएको कालो पत्रे सडक खाल्टा खुल्टीमा परिणत हुन पुगेको हो । सडकको विभिन्न भागमा पानी जमेर पोखरी झैं बनेको छ । निर्माण कम्पनीले उच्च कोटीको भनेको कालोपत्रे सडकमा परेका स–साना खाल्टाले सडककै संरचनालाई जिर्ण बनाएको छ ।
इनरुवा क्लासिक होटल हुँदै बबिया जोड्ने सडकको विभिन्न खण्ड जिर्ण बनेको छ । विभिन्न भागको सडक चर्किन थालेको छ । खाल्टा खुल्टीका कारण आवतजावतमा समेत समस्या पर्न थालेको छ ।
ठाउँ ठाउँमा परेको खाल्टोका कारण सो खण्ड भएर आवत जावत गर्ने पैदल यात्रुदेखि सवारीका साधन संचालनमा समेत कठिनाई उत्पन्न हुन पुगेको छ ।
वडा नम्बर ९ का अध्यक्ष वसिरमुद्दिन मन्सुरी सो सडक खण्ड भएर दिनहुँजसो नगरपालिकाको कार्यालय र बजार आउजाउ गर्छन् । सडकमा परेको खाल्टा खुल्टीका कारण स्मार्ट सिटी परियोजनाकै खिल्ली उडाएको मन्सुरी बताउँछन् । नाम कहलिएको निर्माण कम्पनीले गरेको कामको हविगतले गुणस्तरीयतामा प्रश्न चिन्ह खडा गरेको उनको बुझाई छ ।
कालिका कन्ट्रक्सन प्रालिले निर्माण गरेको सो सडक खण्ड काम सम्पन्न भएको तीन महिना भित्रै जिर्ण बनेको थियो । कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले बिरोध समेत जनाएका थिए । केहि दिन सो खण्डमा यातायात संचालनमा समेत रोक लगाइएको थियो । बिरोध र दबाब पश्चात कालिकाले केहि समय अघि टालटुल गरी मर्मत गरेको भएपनि यतिबेला सो खण्डको सडक पूनः खाल्टा खुल्टीमा परिणत हुन पुगेको छ ।
वडा नम्वर २ का अध्यक्ष श्रवणकुमार यादव कालिकाले हतारमा काम सम्पन्न गरी हस्तान्तरण गरेकाले कालेपत्रे सडक जिर्ण बन्न पुगेको बताए ।

inaruwa_sadak
छिटै काम सकाएर सरकारी सम्मान र पुरस्कार हात पार्ने दाउमा लाग्दा कालिकाले हतारमा काम गरेको यादवको ठहर छ । आफुहरुको सुझावसमेत नमानी आफ्नै तवरले हतारमा काम गरिएकाले नयाँ कालेपत्रे सडक जिर्ण बन्न पुगेको उनको भनाई छ ।
कालिकाले मंसिर भित्र जिर्ण भाग पूनः मर्मत गर्ने बताएको भए पनि ठगठाग गरेर हतारमा कमसल काम गरी संस्थागत लाभ खोज्ने निर्माण कम्पनीको रवैया ठिक नभएको यादवको भनाई छ । कालिकाले संरचना हस्तान्तरण गर्दैगर्दा आफुले असहमति राखेको बताउने यादवले नगर प्रमुख सहितका अन्य पदाधिकारीहरुको पहलमा सडक पास गरिएको बताए ।

यता प्रोजेक्ट मेनेजर उज्वल प्रसाईले कमसल काम नभएको दावी गरेका छन् । बाटोमा निर्माण सामाग्री राखेर सडक भत्किएको बताउदैं मंसिर लागे पछि मर्मत गर्ने उनले बताए । निर्माण सम्पन्नको एक बर्षसम्म मर्मतको जिम्मेवारी ठेकेदार कम्पनिको हुने बताउदैं भत्किएको सडक कम्पनिले मर्मत गर्ने मेनेजर प्रसाईले बताए ।
कालिकाले इनरुवा नगरपालिकामा १३ दशमलव १४ किलोमिटर सडक स्तरउन्नति सहित कालोपत्रे गरेको थियो । बसपार्क सहित सडक, नाला जस्ता पूर्वाधार निर्माणकालागि कालिकाले मुल्य अभिवृद्धि कर सहित १ अरव २ करोड ५० लाख ७१ हजार ७ सय ४० रुपैंयामा ठेक्का पारेको थियो । जसमध्ये १ अरव २ करोड २५ लाख ३४ हजार २ सय ४९ रुपैंया खर्च गरेको कन्ट्रक्सनले झण्डै सात महिना अघि सम्झौता अनुरुपको काम सम्पन्न गरेको थियो ।
पूर्वमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेको कम्पनी कालिका माथि सिक्टा आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर चलेको थियो । कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डे भ्रष्टाचार मुद्दामा तानिएर चार करोड रुपैयाँ बुझाएर अदालतको आदेशमा थुनामुक्त भएका थिए । उनको कम्पनिले पूर्वमा बनाएको सडकको बेहान भएको स्थानीयले बताएका छन् । कालिकाले रुपनगर–नडाहा–कान्छिचोक सडक, विराटनगरका भित्री सडकको ठेक्का पाएको थियो ।