भद्रपुर / नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरीसहित पक्राउ गरेका आठ जना कार्यकर्ताको नाम सार्वजनिक गरेको छ । जिल्लामा श्रृङ्खलाबद्ध बम विस्फोट गराएको आरोपमा प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो । विप्लव कार्यकर्तासँग बरामद गरिएका हातहतियार, चन्दा रसिद, पार्टीका दस्ताबेजलगायतका सामग्रीसहित मङ्गलबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाले संयुक्त अभियान चलाएर विप्लवका बम बनाउने व्यक्तिसहित आठ जना पक्राउ परेको जिल्लाका एसपी दिनेशराज मैनालीले जानकारी दिए । पक्राउ पर्नेमा झापा जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका १ का ३४ वर्षीय प्रवीण मिश्र (मनिष), जिल्ला सदस्य झापा हल्दीबारी गाउँपालिका ५ का ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका २ का २६ वर्षीय अनुल सारु मगर रहेका छन् । बिर्तामोडमा डेरा गरी बस्दै आएका सेक्रेटरी मनिष, जिल्ला सदस्य पोखरेल सडक विभागको ठेकेदारको काम र मगरले जापनिज भाषा सिक्न बसेको भन्दै ढाँटेर बस्दै आएका थिए ।
प्रहरीले तीनै जनालाई विशेष सूचनाको आधारमा सोमबार बिर्तामोडबाट पक्राउ गरेको थियो । सेक्रेटरी मनिष र सदस्य पोखरेल सोमबार बिहान पक्राउ परेका थिए । यता मगरलाई दुई थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, चन्दा रसिद, पार्टीका दस्ताबेजसहित प्रहरीले सोहीदिन साँझ उनकै डेराबाट पक्राउ गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका मगर बम बनाउने काममा सक्रिय रहेको अनुसन्धानको क्रममा खुलेको उनको भनाई छ । उनीहरूले भदौ २२ गते बिर्तामोड र गौरदाहमा बम विस्फोट गराएका थिए ।
त्यस्तै बिर्तामोडको वडा कार्यालयमा बम विस्फोट गराएको आरोपमा पाँचथर जिल्ला इन्चार्ज ताप्लेजुङ त्रिवेणी गाउँपालिका वडा नम्बर ३ पञ्चमी टोल का २७ वर्षीय राजु दास, ताप्लेजुङ जिल्ला इन्चार्ज जिल्ला ताप्लेजुङ सिद्धिङबा गाउँपालिका ४ का ३५ वर्षीय सकल भन्ने सागर लिम्बू, मेची ब्युरो समन्वय समिति अध्यक्षका साथै केन्द्रीय सदस्य ताप्लेजुङ त्रिवेणी गाउँपालिका ५ दोभान गाउँका २४ वर्षीय सन्देश भन्ने गणेश कार्की (ढोली), ताप्लेजुङ जिल्ला सेक्रेटरी (सचिव) सोही जिल्ला फक्तामलुङ गाउँपालिका २ खेजेनिम का ५५ वर्षीय नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य सोही जिल्ला फक्ताङलुङग गाउँपालिका २ का ३८ वर्षीय योगेश भन्ने यामबहादुर लिम्बु रहेको श्रेष्ठले जानकारी दिए । उनीहरूलाई प्रहरीले विशेष सूचनाको आधारमा दमकको एक होटलबाट पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेका विप्लव समूहका कार्यकर्तालाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान शुरु गरेको छ । उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को हातहतियार खरखजाना, विस्फोटक पदार्थ, राज्य विरुद्धको कसुर, चन्दा, सङ्गठित अपराध सम्बन्धी मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको एसपी मैनालीले बताए । जिल्लामा विप्लव समूहको कार्यकर्ताको सङ्ख्या कति छ भन्ने यकिन नभए पनि बम विस्फोटका घटनामा संलग्न कार्यकर्ता पक्राउ परिसकेकाले अब जिल्लामा विस्फोटका घटना नहुनेमा विश्वस्त भएको दाबी गरे ।