भोजपुर/ भोजपुर नगरपालिका–११ जिमीगाउँका शिवाहाङ राईले आफ्नै बुबालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

मादक पदार्थ सेवन गरेका २५ वर्षीय राईले शनिबार साँझ आफ्नै बुबा रामकुमार राई भनेर चिनिने ५५ वर्षीय चन्द्रकुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

बाबुछोराबीच चिया पकाउने कित्लीका विषयमा झगडा भएको स्थानीयले बताएका छन् । छोराको खुकुरी प्रहारबाट घाइते राईको गर्धनमा गहिरो चोट लागेको छ । उनलाई जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि धरान लगिएको छ ।

घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गरी फरार रहेका राई आइतबार बिहान साढे १० बजे भोजपुर नगरपालिका–१० असिनेबाट पक्राउ परेका छन् । उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।