पथरी/ मोरङको कानेपोखरी अस्थाई प्रहरी चौकीमा प्रमुख भएर आएपछि अन्य ठाउँमा सरुवा हुँदा पनि प्रहरी हतपत जान मान्दैनन् । जान नमान्नुको कारण खोज्दै जाने हो भने धेरै भेटिन्छन् । ती मध्ये एउटा हो प्रहरी चौकी छेउमै रहेको चिसाङ खोलाबाट तीन महिने खोला बन्दमा ढुङ्गा, बालुवा र गिटी तस्करहरूसँग मिलेमतोमा निकासी गर्ने ।

त्यसैगरी अर्को कारण हो प्रहरी चौकीको चारैतिर सामुदायिक वन छ र सामुदायिक वनबाट भान्सा कोठा घेराबारा र खाना पकाउने दाउरा भन्दै माग्ने र अरूलाई बेच्ने गरेका तथ्यहरू पेला परेका छन् । प्रहरी चौकीका सई शेखर श्रेष्ठ सरुवा भए पनि अन्य ठाउँमा जान मानेका छैनन् ।

सई श्रेष्ठ र हवल्दार नरेश यादव मिलेर एक महिना अघि सामुदायिक वनले दाउराको नाममा दिएको २१ किबि २ थान गोलिया काठ कानेपोखरीका एक काठ मिललाई बेचिदिएको रहस्य खुलेको छ । दाउरा भनेर दिएको काठ प्रहरी चौकीमा नल्याएपछि सःमिललाई बेचिएको रहस्य खुलेको हो ।

कानेपोखरी प्रहरी चौकीको कम्पाउण्डमा करमको रुख ढलेपछि जनजागृती सामुदायिक वन समितिले प्रहरीको माग अनुसार खाना पकाउने भनेर दुईवटा टुना २१ किबिको काठ छोडेर गएको उपभोक्ता समूहका कर्मचारी रत्न राईले बताए । यो विषयमा सोध्दा सई श्रेष्ठले आफूले कुनै काठ नबेचेको बताए ।

उता इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी अधिकारीले अनुसन्धान गर्ने र दोषी भेटिएमा कारवाही गर्ने बताएका छन् । त्यसैगरी यस अघिका असई पूर्ण बहादुर जोशीले सरुवा भएको केही महिना बसेर मात्र अन्य ठाउँमा गएका छन् ।

असई जोशीले जनजागृती सामुदायिक वन उपभोक्ता समूह र ग्रामीण सुधार सामुदायिक उपभोक्ता समूहबाट भान्सा कोठा निर्माणको लागी ४०–४० गरेर ८० किबि काठ लगेका थिए । असई जोशीले २०७५ असोजमा वनबाट लगेको केही काठ भान्साकोठामा लगाएर अन्य काठ बेचेको तथ्य फेला परेको छ ।