धरान । बसभित्रै १५ वर्षीय बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा बसका चालक र सहचालक पक्राउ परेका छन् ।

ना ६ ख ९३४४ नम्बरको यात्रुबाहक बसका चालक मोरङ रङ्गेली नगरपालिका–३ का किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । बेतना सिमसार घुमेर दमक फर्किएकी बालिकालाई ललाईफकाई पथरीशनिश्चरे हुँदै रङ्गेली–९ दोहमना बजारमा ल्याई साँझको समयमा जवर्जस्ती करणीको प्रयास गरेका थिए ।

करणीको प्रयास गर्ने क्रममा बालिका चिच्याएर भाग्न खोज्दा सहचालक न्यौपानेले जवर्जस्ती हात समाई बसभित्र लान खोज्दा पीडित बालिकाले पुनः प्रतिकार गरी चिच्याएपछि घटना बाहिरिएको थियो । स्थानीयले घटनाबारे जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बालिका धनकुटा घर भई दमक आफन्तको घरमा बस्दै आएकी थिइन् । घटना भदौं २२ गतेको हो ।

Slide3