धरान/ धरानको भानु सब्जी तथा फलफूल व्यवसायीले शीतभण्डारणका लागि स्थानीय तथा प्रदेश सरकारसँग पहल गर्ने भएको छ । भानु सब्जी तथा फलफूल व्यवसायी समितिको ३२ औं साधारणसभामा सचिव राजेन्द्र दर्नालले पेश गरेको प्रतिवेदनमा शीतभण्डारणको लागि पहल गर्ने उल्लेख छ ।

आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै शीतभण्डारणको तयारी गरिएको उनले बताए । समितिले पालिका बजारभित्रका व्यवसायीहरूको हितकोषलाई निरन्तरता दिने बताएको छ । हाल सिकिस्त बिरामी तथा शल्यक्रिया गर्नुपर्ने भएमा ७ हजार रुपैयाँसम्म र निधन हुँदा १० हजार रुपैयाँ दिने कार्यलाई निरन्तरता दिने भएको हो ।

उनले आर्थिक वर्ष २०७६/७७ मा १२ लाख ४२ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन् । समितिले पत्रकारहरूलाई सम्मानित गरेको छ । ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, महाप्रतिवाद साप्ताहिकका सम्पादक तारा लामगादे र हिमशिखर टेलिभिजनका धरान संवाददाता गोविन्द बस्नेतलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा अध्यक्ष हर्क तुम्रोकले पत्रकारहरूलाई सम्मान–पत्रसहितले सम्मानित गरेको हो । कार्यक्रमको उद्घाटन धरान उपमहानगरकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले गरिन् । कार्यक्रममा पूर्वअध्यक्ष काजी गिरी, कृषिउपज बजारस्थलका अध्यक्ष परशुराम कट्वाललगायतले शुभकामना मन्तव्य दिए । सभाले नयाँ कार्य समितिसमेत चयन गरेको छ ।