बिर्तामोड/ झापाको मेचीनगर नगरपालिकामा बलात्कारको एउटा काण्डले मेचीनगर गर्माएको छ । दुई वर्षदेखि ‘सहमति’ मा भइरहेको सम्बन्ध ‘भाडाको घर खाली गर्न’ भनेपछि अन्ततः बलात्कारमा परिणत भएको आरोपित परिवारको दाबी छ । बलात्कार काण्डका प्रमुख अभियुक्त विष्णु खड्का फरार छन् । खड्काको घरमा २ वर्षदेखि पीडित भनिएकी युवतीको परिवार बस्दै आएको थियो । १९ वर्षीया युवतीसहित परिवार नै बस्दै आए पनि आरोपित परिवारले ५ महिनाको मात्रै भाडा लिएको दाबी गर्दै आइरहेको छ ।
अति विपन्न भएकाले भाडासमेत नमागेको तर, गाउँघरका छिमेकीले ती परिवारलाई निकाल्न भन्दै दबाव दिएपछि घरबाट निकाल्न खोज्दा बलात्कारको आरोप लगाएको आरोपितका श्रीमती पुष्पाले बताइन् । मेचीनगर–९ घर भएकी पीडित युवती स्थानीय विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।
युवतीका अनुसार पछिल्लो पटक असार २ गते खड्काले स्थानीय होटलमा लगेर शारीरिक सम्बन्ध राखेका थिए । सोही दिनको घटनालाई जोडेर पीडित युवतीले असारको दोस्रो साता इलाका प्रहरी कार्यालयमा आफूमाथि करणी भएको भन्दै उजुरी दर्ता गरिन् । सो मुद्दा अहिले झापा जिल्ला अदालतमा छ । ५६ वर्षीय पीडक खड्काको मेचीनगर नगरपालिका–९ मा दुईवटा घर छ । एउटा घरमा परिवारसहित आफै बस्छन् भने अर्काे घरमा पीडित युवतीको परिवार भाडामा बस्दै आएको छ । ‘शुरुको ५ महिना मासिक २५ सयका दरले भाडा तिरेका थिए, त्यसपछि भाडा पनि दिएका छैनन्’ पीडक खड्काकी श्रीमती पुष्पाले भनिन्, ‘गरिब छन् भनेर भाडा लिएनौंं ।’
पीडित परिवारले हो–हल्ला गरेका कारण स्थानीयबासीले दुर्गा टोल विकास संस्थामा उजुरी हालेका थिए । सोही उजुरीको आधारमा पीडित भनिएका परिवारलाई पटक–पटक बोलाउँदा पनि नआएको मेचीनगर नगरपालिका–९ का अध्यक्ष गोपाल खड्काले बताए । उनका अनुसार पीडित युवतीको परिवारले हो–हल्ला गरेर गाउँमा बसिनसक्नु बनाएपछि टोल विकास संस्थाले छलफल गरेर उनीहरूलाई त्यहाँबाट हटाउन पत्र लेखेको रहेछ ।
सोही पत्रका आधारमा अध्यक्ष खड्काले पनि पीडित भनिएको परिवारलाई वडा कार्यालयमा छलफलका लागि साउनको अन्तिम साता र भदौको पहिलो साता उपस्थित हुन आग्रह गरिएको बताए । त्यसपछि पीडित बसेको भाडाको घरमा पत्र टाँसेर छलफलका लागि बोलाएको थियो । तर, पटक–पटकको बोलावटलाई बेवास्ता गरेपछि वडा, नगरपालिका हुँदै इलाका प्रहरी कार्यालय धुलाबारीमा पुगेको थियो । ‘उनी पीडित हुन् होइनन्, त्यो मैले निर्णय गर्ने होइन’ अध्यक्ष खड्काले भने, ‘पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा म प्रतिबद्ध छु, तर, अर्काे विषयमा काटेको पत्रको मर्म नबुझी हामीलाई आक्षेप लगाइयो ।’
टोल विकास संस्थाका अध्यक्ष टीकादेवी थापाले लामो समयदेखि खड्का र पीडित युवतीको शारीरिक सम्बन्ध रहेको दाबी गरिन् । ‘उनीहरूको हर्कत खुल्लम खुल्ला जस्तै थियो’ थापाले भनिन्, ‘ त्यो नियन्त्रणका लागि हामीले धेरै पटक पहल गरे पनि सकेनौं र वडामा उजुरी हालेका हौं ।’ अपशब्द बोल्ने, झगडा गर्ने क्रम बढी भएपछि आजित भएका स्थानीयले विकृति नियन्त्रणको लागि नगरपालिकालाई गुहारेको उनले बताइन् । पीडितलाई न्याय तथा पीडकलाई कारबाहीका लागि टोल विकास संस्थाले पूर्णरूपमा सहयोग गर्ने बताइन् ।
पीडित किशोरीकी आमाले आफ्नो अनुपस्थितिमा छोरीको कुरा नगर्नका लागि आग्रह गरेकी थिइन् । उनले खड्काले छोरीलाई बलात्कार गरेकाले कारबाही र न्यायको माग गरिन् । ‘यकिन मिति त थाहा छैन, तर डेढ वर्षदेखि पीडकले ममाथि ज्यादती गर्न शुरु गरेका हुन् । एकदिन मर्निङ वाकमा जाँदा स्कुटरमा हिँडेका उनले मलाई चढ्न लगाए । म मानिनँ । जबरजस्ती चढाएर जङ्गलमा लगेर बलात्कार गरे’ पीडित युवतीले भनिन्, ‘त्यसपछि मैले उजुरी गर्ने बेलासम्म लगातार बलात्कारको शिकार भएँ ।’ घटनाबारे कसैलाई सुनाए मारेर फ्याँकिदिने चेतावनी दिएको उनले दाबी गरिन् । ‘मेरो पहुँच नेपाल, भारत सबैतिर छ, तिमीहरूले के गर्न सक्छौ भन्दै मलाई बोलाउने गरेको थियो, आइनस् भने तँसहित तेरो परिवार सखाप पार्दिने हिम्मत छ ।’ कतै जाँदा बाटो छेकेर जबरजस्ती होटलमा लैजाने गरेको उनले बताइन् ।
बलात्कारको शिकारमा परेकी किशोरी दलित समुदायकी हुन् । यस घटनामा झापाका दलित अधिकारकर्मीले पीडितलाई न्याय दिन सक्दो पहल गर्ने बताएका छन् । दलित अधिकारकर्मीले सो टोलवासीले दलित भएकै आधारमा गाउँनिकाला गर्न लागेको आरोप पनि लगाएका छन् । वडाले छलफल गर्न भनेर बोलाए पनि गाउँनिकाला गर्ने अभिष्ट भएका कारण वडाको पत्रअनुसार छलफलमा नपठाएको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्रातीले बताए ।