‘विपरीतहरूको एकता, सङ्घर्ष र रूपान्तरण’ माक्र्सको यो सिद्धान्त जीवनका थुप्रै पाटाहरूको विश्लेषण र संश्लेषण गर्न काफी छ ।

जीवन क्रमिक विकासको देनमात्र नभई सङ्घर्षको दर्शन पनि हो । सङ्घर्ष समानहरूसँग र विपरीतहरूसँग पनि हुन्छ । विपरीतहरूसँगको सङ्घर्षले रूपान्तरण हुन्छ । यसैले राजनीतिमा विपरीतहरूसँगको एकताको महत्व धेरै हुन्छ । राजनीतिको अर्को बिन्दु क्रमभङ्ग हो । क्रमिक विकासभन्दा क्रान्तिले क्रमभङ्गताको माग गर्छ । आकस्मिकता चाहिँ भाग्यवादभन्दा त्यति धेरै फरक छैन ।

राजनीतिको अर्को पक्ष हो विशिष्टता र उत्कृष्टता
अझ माक्र्सवाद आफैमा विशिष्टता बोकेको दर्शन हो । यसमा उत्कृष्टता मात्र बनाए पुग्छ । कम्युनिष्टहरूको अन्तिम लक्ष्य भनेको साम्यवाद (वर्गविहीन समाज) हो । खासमा मान्छेको मूल प्रवृत्ति र प्रकृति भनेको पूर्ण स्वतन्त्रता हो । तर विकासको क्रममा मान्छेले नै सीमाहरूको निर्धारण गर्यो । आफैद्वारा निर्मित तिनै सीमाहरूले आफैूलाई बाँध्यो । बिस्तारै स्वतन्त्रता गुम्दै गयो । साम्यवादको प्राप्ति ज्यादै कठिन हो । अध्यात्मले परमआनन्द भेट्नुजस्तो गाह्रो । आनन्द व्यक्ति–व्यक्तिको हुन्छ । साम्यवाद समूहको हुन्छ । एकजनाको स्वतन्त्रताले वा समृद्धिले साम्यवादको झिल्को दिन सक्तैन । आनन्द हरेक फरक व्यक्तिले फरक–फरक तरिकाले अनुभूत गर्न सक्छ ।

विज्ञानले भन्छ हरेक ठोस वस्तुलाई तरल र तरल वस्तुलाई ठोस बनाउन सकिन्छ । तर जोसुकैले यति सजिलै यो काम गर्न सक्तैन । त्यसको अर्थ विज्ञानको नियम नै गलत छ भन्ने होइन ।

अध्यात्ममा भन्न सकिन्छ हरेक ठोस वस्तुमा उज्यालो (आगो) हुन्छ । सलाई, लाइटर पारेजस्तो काठ घोटेर आगो निकाल्न सजिलो छैन । तर त्यसको घर्षणबाट पनि आगो निस्कन्छ । दुई वस्तुको घर्षणमा कति धेरै बल प्रयोग गरिएको छ भन्ने हुन्छ । एकदमै थोर समयमा एकदमै धेरै बलको प्रयोगबाट दुई वस्तुको घर्षणमा आगो निस्कन्छ ।

क्रान्तिको अन्तिम लक्ष्य उत्कृष्टता हो । उत्कृष्टताको अन्तिम प्राप्ति भनेको साम्यवाद हो । ईश्वरवादीहरूले मोक्ष प्राप्त गर्नुजस्तो भौतिकवादीले साम्यवाद भेट्नु हो । पूर्ण स्वतन्त्रताको नाम साम्यवाद हो । फेरि पूर्ण स्वतन्त्रता भनेको प्रेमको उपस्थिति हो । प्रेमको उपस्थिति त्यतिबेला मात्र सम्भव छ जब हरेक मान्छे आफ्नो प्रकृतिमा पुग्न सक्छ ।

समाज अलमलमा छ हिजोदेखि आजसम्म । यो अलमल भोलि कहिलेसम्म चल्छ कसैले भन्न सक्तैन । अलमलले गज्जबको भ्रम सृजना गरेको छ । त्यो भ्रममा डरको ठूलो रूप उभिएको छ । मान्छे आफ्नो प्रकृति भुलेर/थाहा नपाएर भ्रममा आ–आफ्नो वर्चस्व जमाउन तल्लीन छ ।  भ्रमको ब्लाकहोलमा फसेर राजनीतिले उत्कृष्टा प्राप्त गर्न सकिरहेको छैन ।

अबको नेपाली राजनीति र क्रान्ति
समयक्रममा नेपाल बन्दादेखि आजसम्म राजनैतिक आन्दोलनहरू चलिरहेका छन् । जबसम्म उत्कृष्टता प्राप्त हुँदैन तबसम्म यो क्रम रहि नै रहन्छ, चलि नै रहन्छ ।

विद्रोहकै शृङ्खलामा नेपालमा जनयुद्ध हुन्छ दश वर्ष दश महिनासम्म । त्यसका नायक प्रचण्ड । सारथिहरू धेरै छन् । लाखौँ नेपाली जनताको साथ पनि छँदै थियो ।

जनयुद्ध सम्झौतामा समाप्त भयो । प्रचण्डको भनाइलाई सापटी लिने हो भने त्यसले जनआन्दोलनको रूप लियो । जनयुद्धको उद्देश्यअनुरूप गणतन्त्र आयो । तर उत्कृष्टता प्राप्त भएन । युद्ध तीनवटा कुरामा पुगेर टुङ्गिएको इतिहास छ । पहिलो कब्जा (जीत), दोस्रो सम्झौता र तेस्रो आत्मसर्मपण । नेपालको जनयुद्ध सम्झौतामा सकियो । सम्झौताको अवस्था भनेको हार न जीतको अवस्था हो ।

हो, यहाँनेर माक्र्सको दार्शनिक नियम ‘विपरीतहरूको एकता, सङ्घर्ष र रूपान्तरण’ सूत्र प्रयोग गर्नुपर्छ युद्ध गरेर आउनेहरूले । विपरीत राजनैतिक दर्शन बोकेकाहरूसँग मिल्ने, त्यसपछि त्यहीँभित्र सङ्घर्ष गर्ने र उनीहरूसहितलाई उत्कृष्टतामा रूपान्तरण गर्ने । यसो गर्न सकिए सम्झौता कब्जा (जीत) मा गएर टुङ्गिन्छ ।

नेपालमा विपरीतहरूको एकता उस्तै वस्तुहरूबीचको घुलनजस्तो मात्र भयो । जस्तै एउटै ट्याङ्कीबाट वितरित दुईवटा धाराको पानी मिसिएजस्तो ।

कुनै पनि राजनैतिक युद्धका दुई पक्ष महत्वपूर्ण हुन्छन् । पहिलो उद्देश्य (लक्ष्य) र दोस्रो वाचा (प्रतिबद्धता) । के उद्देश्यले, कुन प्रतिबद्धताका साथ शुरm गरियो ? र कहाँ पुगेर यात्राको बिट मारियो ? यिनै दुई प्रश्नको जवाफ त्यो युद्ध कति सफल भयो भन्ने निष्कर्ष हो । फेरि निष्कर्ष निकाल्न राजनीतिको इतिहास बुझ्नुपर्छ ।

जनयुद्धका बारेमा दुईखाले धारणा छन् नेपालमा । एउटा पक्षले भन्छ त्यो हिंसात्मक युद्धमात्र थियो । अर्कोपक्षले भन्छ, त्यो महान् क्रान्ति थियो । पहिलो भनाइ विशेषतः विदेशीहरूको प्रतिक्रियाको साररूप मात्र हो । माओवादीले चलाएको जनयुद्ध हिंसात्मक युद्ध कुनै कोणबाट पनि होइन । यो जनताकै तर्फबाट गरिएको युद्ध थियो ।

छिटफुट घटनालाई लिएर हिंसात्मक भन्नु इतिहासप्रतिको बेइमानी हो । राजनैतिक रूपमा जनयुद्धले केही परिवर्तनहरू ल्यायो । यसलाई कसैले अस्वीकार गर्छ भने उसले राजनीतिमा ठट्टा गरिरहेको छ । तर मूल प्रश्न जनयुद्धको लक्ष्य र वाचा (प्रतिबद्धता) कति पूरा भयो भन्ने हो ?

अब प्रचण्ड
प्रचण्ड कसैले स्वीकार गरे पनि नगरे पनि नेपाली राजनीतिको केन्द्रमा रहँदै आए जनयुद्धदेखि नै । उनकै समर्थन र विरोधमा वर्षौँ बित्यो नेपालीहरूको । उनलाई राजनीतिको केन्द्रमा जनयुद्धले पु¥यायो । जनयुद्धको नेतृत्व प्रचण्डले गरेकै हुन् ।

जब नेपाली राजनीतिको विषयमा प्रचण्डलाई निकालिदिने हो भने कस्तो होला ? प्रचण्डलाई हटाएर लेखिएको वा अध्ययन गरिएको नेपाली राजनीतिको इतिहास कस्तो होला ? यी नेपाली राजनीतिका इतिहास लेखन र अध्ययनका मूलभूत प्रश्नहरू हुन् ।

प्रचण्ड एक व्यक्तिमात्र आफैँ सर्वोपरि हुँदै होइन । प्रचण्ड त मुख्यतया समाजको वास्तविक धरातल हो । समयको माग हो । कसैले चाहने बित्तिकै नेता हुन सकिँदैन । त्यसका लागि समाजको मूल्याङ्कन र आवश्यकता बुझ्न सक्नुपर्छ । विश्व सँगैसँगै आफू रहेको समाजको विश्लेषण र संश्लेषण सही तरिकाले गर्न सक्नुपर्छ । त्यो धेरै हदसम्म प्रचण्डबाट भयो ।

दुःखद भन्ने कि सुखद लक्ष्यको किनारा पुग्नै लाग्दा प्रचण्डले अरूको हात समाउन पुगे । प्रचण्डको हात समाएको तस्विर देखाएर अरूले नै राजनैतिक हिरो बन्ने धृष्टता जाहेर गरे । आफूलाई समाउने हात खुस्काउन फेरि प्रचण्डले अर्को युद्ध गर्नुप¥यो ।

मानिसहरूले भने प्रचण्डका पनि आफ्नै सीमाहरू थिए र छन्, भने राम्ररी बुझेका होलान् । तर, एक क्रान्तिकारीको कुनै सीमा हुँदैन र हुनु पनि हुँदैन ।

धक्का, क्रमभङ्गता र छलाङ्मा थुप्रै त्रुटिहरू देखिए । यसका बाबजुद पनि यात्रामा नथाक्नु प्रचण्डको मौलिक विशेषता मान्न सकिन्छ । साहसी र गतिशील नेताको उपमा धेरैले दिएका छन् प्रचण्डलाई । मुख्य कुरा चाहिँ प्रचण्डको दृष्टिकोण हो । साहस र गतिशीलताले मात्र क्रान्तिकारी नेता बन्न सम्भव छैन ।

प्रचण्डले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘म अरूले हेर्दा र सोच्दा जति जटिलजस्तो लाग्छु त्यसको ठीक विपरीत कोमल छु ।’
कोमलताबाट करmणाको श्रेणीमा पुगिन्छ । एउटा क्रान्तिकारी राजनेतासँग करmणाको श्रेणी अवश्य चाहिन्छ । हृदयभित्रको कोमलताको प्रयोग प्रचण्डको जीवनले खोज्छ सधैँभरि ।

नेपालको गणतन्त्रको पिता त अवश्य प्रचण्ड नै हुन् । विडम्बना जनआन्दोलनको नेतृत्व गर्ने, गणतन्त्रको घोषणा गर्ने, संविधानसभाबाट लेखिएको नेपालको संविधान सार्वजनिक गर्ने जिम्मेवारी चाहिँ अरूले पाए । एउटा संयोजन पनि भएको छ प्रचण्डको जीवनमा । त्यो हो क्रान्ति र शान्तिको । यी दुवैको नेतृत्वको भूमिका प्रचण्डले प्राप्त गरेका सुअवसर हुन् । जनयुद्ध र प्रचण्ड परिपूरक हुन् ।

प्रचण्डले समृद्ध देश बनाउने जिम्मा काँधमा बोकेर हिँडेको सत्य हो । देश बोक्ने मान्छेलाई गलेँ भन्ने छुट हुँदैन÷छैन । बरm देश बोक्दा–बोक्दै मर्न तयार हुनुपर्छ । जसरी जनयुद्धमा हजारौँ योद्धाहरू देशका लागि शहीद हुन तयार थिए । आवश्यक परे हरेक समयमा अनेकौँ वीरहरू तयार हुनेछन् ।

जनयुद्ध र प्रचण्ड दुवै बहसका विषय हुन् । यसमा पछि–पछि पनि झन् धेरै छलफल र बहस हुनेछन् । इतिहासबाट के बुझ्न सकिन्छ भने कसैको योगदानका विषयमा हजारौँ वर्षपछि पनि छलफल र बहस हुन्छ । प्रचण्डको बारेमा अन्तिम विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने समय भएको छैन । कुनै पनि नेताको बारेमा ऊ अन्तिमसम्म नपुगी निष्कर्ष निकाल्न सकिँदैन । यात्राका क्रममा अनुमान गर्न सकिन्छ, किटान गर्न सकिन्न ।

नेपाली राजनीतिको इतिहास अध्ययनको सानो अंश हो यो पुस्तक
प्रचण्डसँग अनेकौँ सहमति/असहमति हुनसक्छन् । इतिहासका घटनाक्रमलाई अस्वीकार गर्न सकिँदैन । ती घटनाप्रति हरेकको दृष्टिकोण फरक हुनसक्छ । दृष्टिकोण फरक भए पनि घटना सबैका लागि एउटै हुन्छ । अर्को कुरा, इतिहास लेख्ने मान्छेले कोसँग कति सहमत वा असहमत छ भनेर निर्णय लिन मिल्दैन । इतिहास कसैको सहमति र असहमतिले परिवर्तन गर्न सकिँदैन ।

यो प्रचण्डको बारेमा विश्लेषण गरिएको पुस्तक पटक्कै होइन । इतिहासका घटनाक्रमको दस्तावेजीकरण मात्र हो । इतिहास लेख्नेले विश्लेषण गर्न हुँदैन भन्ने मेरो सामान्य बुझाइ छ । इतिहासका कुरा दस्तावेजका रूपमा राखिदिने हो विश्लेषण हरेकले आफैँ गर्नेछन् । त्यसैले यो पुस्तक इतिहासको दस्तावेज हो मेरो मूल्याङ्कन वा विश्लेषण होइन ।

(रामप्रसाद खरेलद्वारा लिखित पुस्तक ‘प्रचण्ड : जनयुद्धका नायक’ को पुस्तक अंश । मञ्जरी पब्लिकेशन काठमाण्डौँबाट प्रकाशित यो पुस्तक भदौको पहिलो हप्ताबाट बजारमा आउँदै छ । )