भद्रपुर/ उद्योगले खनेको पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । भद्रपुर १० स्थित विष्णु लक्ष्मी क्रन्किट उद्योगले दुइवर्ष अघि खनेको पोखरीमा डुबेर सोही स्थानका १२ बर्षीय सुमन जोगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पेशल न्यौपानेको जग्गा भाडामा लिएर उद्योगको लागि माटो निकालेर भविश्यमा माछा पाल्ने उद्देश्यले खनेको कच्ची पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्थानीयले जनाएका छन् ।

शनिबार दिउँसो आफन्तकोमा जान्छु भनेर घरबाट हिडेका सुमन घर नजिकै दक्षिण तर्फ रहेको पोखरीमा पुगेका थिए । पोखरीको डिलमा कपडा खोलेर निर्वस्त्र पौडी खेल्न पसेको घटना स्थलमा फेला परेका छ ।

दिनभर सम्पर्कमा नआएपछि खोजतलास गर्ने क्रममा साँझ पोखरीमा घोप्टो परेर तैरीरहेको अवस्थामा फेला पारिएको स्थानीय सविन जोगीले बताए । घटनापछि प्रहरीलाइ खबर गरेको उनको भनाइ छ । यो भन्दा अघि पनि सोही पोखरीमा अन्य साथीहरुसँग आउने गरेको र घटना भएको दिन चै साथी आए नआएको थाहा नभएको उनले बताए ।

जोगी परिवारका जेठी छोरी र मृतक कान्छो सन्तान रहेको परिवारले जनाएका छन् । उनी भद्रपुर ७ चन्द्रगढी स्थित बीरेन्द्र माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए । जोगी परिवार अन्य जिल्लाबाट बसाइँ सरी ६ महिना अघि देखी स्थायी रुपमा बसोबास गर्दै आइरहेका थिए ।

जिल्लाबाट गएको प्रहरी टोलीले स्थलगत मुचुल्का तयार पारी शवलाइ पोष्टमार्टका लागि साढे १० बजे राती मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।