उदयपुर/ अविरल वर्षापछि पहाड नै फुटेर आएको पहिरोले उदयपुरको पोखरी गाउँ उच्च जोखिममा परेको छ । रौतामाई गाउँपालिका –५ को पोखरी गाउँमाथिको ठूलो भिर फुटेर पहिरो झरेपछि सिङ्गो गाउँ नै उच्च जोखिममा परेको हो ।
पहाडको फेदीमा रहेको गाउँ पहाड नै फुटेर पहिरो झरेपछि विस्थापित हुने अवस्थामा पुगेको छ । गाउँ माथिको सोर्ला, छुरे भिर फुटेर पहिरो झरेको हो । उक्त पहिरोले पहाडको फेदीमा रहेको ११ वटा पसल र करिब दुई दर्जन घरपरिवार सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्ने अवस्था आएको पालिकाले जनाएको छ ।
गाउँ माथिको पहाड विष्फोट भए झै गरी भत्किन थालेपछि गाउँ उच्च जोखिममा परेको छ । ठूलठूलो ढुङ्गा खस्न लागेको छ । त्यो ढुङ्गा झर्ने हो भने सिधै घरमा पर्ने भएकाले ठूलो धनजनको क्षति हुने जोखिम रहेकाले गाउँ सुरक्षित स्थानमा स्थानान्तर गर्नुपर्ने अवस्था आएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
वषौँदेखि बसोबास गर्दै आएका गाउँ माथिको पहाड एक्कासि फुट्नाले जोखिम निम्त्यिएको हो । गाउँ र पसल सुरक्षित स्थानमा सार्नका लागि सजिलो भने छैन । फेरि वर्षा भएको खण्डमा पहिरो झर्यो भने ठूलो मात्रामा धनजनको क्षति हुने भएकाले गाउँ नसारी नहुने अध्यक्ष खड्काले बताए । गत साउन १० गते विहान अचानक अग्लो डाँडाको एक छेउ भत्किएको स्थानीयले बताएका छन् । पहाड फुटेर झरेका ढुङ्गाहरू मानिसले धाराप थापे झैँ अडिएर बसेका छन् । पहाड थप भत्किँदै गएको र भत्किएको ठाउँभन्दा माथिको डाँडा समेत धाँजा फाटेको स्थानीयले बताएका छन् ।
गत १० गते फुटेर झरेका ढुङ्गाहरूले पहाडको फेदी भरिएकाले अब थप भत्किए सिधै गाउँमा झर्र्ने वाडाध्यक्ष पाण्डव राईले बताए । फुटेर झरेका ढुङ्गाहरू गाउँ र फेदीका बीचमा रहेका खाल्टाखुल्टीमा भरिएकाले ढुङ्गा गाउँसम्म आई नपुगेको वडाध्यक्ष राईले बताए । बीचमा रहेका खाल्टाखुल्टी भरिए पनि त्यस माथि धराप झै रहेर बसेका ठूला ढुङ्गा कति बेला झर्ने हो पत्तो छैन । पहाड फुटेपछि स्थानियबासीहरू चिन्तित बनेको उनले बताए । सगरमाथा राजमार्ग गाईघाट–दिक्तेल सडक खण्डको एक बजार रहेको गाउँ पहाड फुटेर पहिरोको उच्च जोखिममा परेपछि गाउँ नै सार्नुपर्ने अवस्था आएको वडाध्यक्ष राईले बताए । तत्काल गाउँलाई सार्न सक्ने अवस्था पनि छैन । पहिरोको अति उच्च जोखिममा राती स्थानीयहरू निदाउन समेत नसक्ने गरेको वडाध्यक्ष राईले बताए ।
गाउँभन्दा केही तल पञ्चकोशी (दुधकोशी) नदी बगिरहेको छ । १९९० सालको भूकम्पमा पहाड फुटेर झरेदेखि यताको पहिलो घटना भएको बूढापाकाहरू बताउँछन् । गाउँभन्दा माथि अनाकन्टार पहरा भए पनि पहिरो जाँदैनथ्यो । यसपाली एक्कासि आएको पहिरोले कति बेला के हुने हो भन्ने गाउँलेमा त्रास छाएको स्थानीय बासु राईले बताए ।
राजमार्गमा पर्ने गाउँ होटल र पसलसँगै सामान्य बजारको रूपमा विकसित हुँदै गरेको छ । उक्त बजारमा छिमेकी जिल्ला खोटाङको बाराहा गाउँपालिकाका अधिकांश स्थानीयबासीहरूले दैनिक उपभोग्य सामाग्री खरिद गर्ने गरेको स्थानीय राईले बताए । पहिरोको चपेटामा परेको गाउँ गाईघाट–फोक्सिन्टार–रसुवा चल्ने सवारी साधनहरूको बिसौनी, खाना खाने ठाउँ पनि हो । व्यापार व्यवसायको लागि धेरै खर्च गरेर निर्माण गरेका घर, पसलहरूले गर्दा स्थानीयबासीहरूले बस्ती छाड्न सकेका छैनन् ।
बस्ती छाडेर जाने ठाउँ नभएकाले कति बेला के हुने हो भन्ने चिन्तासँगै अन्योलता छाएको छ । सडकको पहुँच नपुग्दा खोटाङ जिल्लाका अधिकांश भूभागका बासिन्दाहरू बेलटार, गाईघाट र राजधानीसँगै देशका ठूला क्षेत्रमा आवत जावत गर्नका लागि कोशी किनारको बाटो प्रयोग गर्दथे । त्यसबेला गाउँभन्दा तल रहेको खयरबासमा ब्यापार गर्दै आएका व्यापारीहरू नै सडक आएपछि माथि सरेर राम्रो घर, पसल निर्माण गरेको स्थानीय किसन राईले बताए ।
खयरबासमा व्यापार गर्दा पनि उक्त क्षेत्रबाट झरेको पहिरोले बगाएर एक जना स्थानीय र दुई जना बास बसेका बटुवा कोशीमा परेर बेपत्ता भएको स्थानीय राईले बताए । उक्त घटनापछि कुनै बेला अलिअलि ढुङ्गा खस्ने गरेको स्थानीय राईले बताए । बस्ती सार्नको लागि सुरक्षित स्थान खोजी गर्दा सो बस्ती आसपासमा भने जस्तो ठाउँ नभेटिएको र प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले बताए ।
































