धरान  / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा। राजकुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा आज विशेष अदालतमा दायर गरेको छ ।

होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकेदारसँग पटक पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको पुष्टी भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।

रौनियारले होस्टल र फार्मेसी भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्र्याक्टर गिना कन्स्ट्र्क्सन कम्‍पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्‍न मितिमा रनिङ विलको भुक्तानी दिँदा पटक पटक कमिसनवापत घुस लिएको अडियोसहित अख्तियारमा उजुरी परेको थियो । उनीसँगको लेनदेनमा चालक दिवाकर कार्कीलाई प्रयोग गरिएको थियो ।

त्यस्तै उक्त भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि ठेकदार कम्पनीका झालाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको सूचना पाएपछि अख्तियार टोलीले गत असारमा रौनियार र प्रतिष्ठानमै हाउस अफिरको रुपमा कार्यरत उनका भतिज डा. रामहरि रौनियारलाई घुससहित पक्राउ गरिएको थियो ।
उनका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको प्रबक्ता कोइरालाले जानकारी दिए । अख्तियारको नियन्त्रणमा रहेका उनीहरुलाई आजै अदालतमा बुझाइएको बताइएको छ ।