भद्रपुर/ राजीखुशीमा पारिवारिक सम्बन्धका रूपमा स्थापना हुने विवाह व्यक्तिगत लाभको माध्यम तथा बासनात्मक स्वार्थ पूर्तिको साधनमात्र बनाउने प्रवृत्तिले समाजमा अपराधका लागि नयाँ–नयाँ मार्ग बन्न पुगेको छ । पछिल्लो पटक पवित्र सम्बन्धको पर्याय रहेको वैवाहिक सम्बन्ध विकृत बन्न थालेपछि अपराधका लागि नयाँ मार्ग बन्न थालेको हो ।
भद्रपुरमा केही दिनअगाडि वैवाहिक जीवनमा प्रवेश गरेको महिना दिन पनि बित्न नपाउँदै शालिन स्वभावकी एक महिला नयाँ अपराधको शिकार हुन पुगेकी छन् । घरपरिवारको दोहोरो सहमतिपछि अग्नि साक्षी राखेर विवाह गरेका श्रीमान्ले जबरजस्ती परपुरुषसितको सम्बन्ध स्थापित गर्न नातामा मामा पर्ने व्यक्तिसित दिनदहाडै नङ्गेझार पारेर नवदुलहीको फोटो खिचे । योजनाबद्धरूपमा आएका श्रीमान्ले माइतीघरमा एक्लै रहेकी श्रीमतीलाई बाथरूममा नुहाइरहेको अवस्थामा ढोका फोरेर निकाली घरको बाहिरी बरण्डामा रहेका व्यक्तिलाई भित्र लगेर करणी गरेको जस्तो बनाएर फोटो खिची सार्वजनिक गरेपछि अपराधको नयाँ प्रवृत्ति प्रष्टिएको छ ।
पीडितका अनुसार भद्रपुर–७ की केटीको विवाह शिवसतासी–८ का अधिकारी परिवारको केटोसँग वैशाख १८ गते गरिएको थियो । बाबुआमा सामान्य कर्मचारी भए पनि आफ्नो परिवारकी छोरीको विवाहमा कुनै कमी नगरी धक खोलेर गरे । छोरीको भविष्य उज्वल होला भन्ने कामनासहित नयाँ जीवन यात्रामा पठाइएकी छोरीले मधुमास अवधि पूरा गर्न नपाउँदै जीवनकै गम्भीर आरोप खेप्नुपरेको परिवारको भनाइ छ ।
अधिकारी परिवारले मागी विवाह गरेकी छोरीलाई परपुरुषसित सम्बन्ध रहेको प्रमाण भन्दै माइती घरमा रहेको बेला असार ८ गते बिहान साढे १० वजे श्रीमान्ले खनाल थरका पण्डितको नाम जोडेर बेइजतसमेत गरेको परिवारको दाबी छ । बाथरुममा नुहाइरहेकी महिलालाई केही दलबलसहित आएका ज्वाइँले ढोका फोरेर जबरजस्ती बाहिर ल्याई घरमा बसिरहेका पण्डितसित नाङ्गेझार पारेर फोटो खिचेको परिवारले जनाए । ‘महिलाको फेसबुक आइडी प्रयोग गर्दै खनाल थरका पण्डितलाई यौनाकर्षण गरिरहेका रहेछन्’ उनीहरूले भने ।
तर, माइतीघरमा रहेकी सोझी ती महिलालाई आपराधिक कामबारे जानकारी थिएन । बुबाआमा दिउँसो कार्यालयमा जाने भएका कारण घरका अन्य सदस्य नभएकाले उनी एक्लै बसेकी थिइन् । त्यो कुरा श्रीमान्लाई थाहा थियो । त्यसको फाइदा उठाउँदै अधिकारीले एक्ली श्रीमतीलाई बाध्यतामा पारी परपुरुषसँगको सम्बन्ध पुष्टि गराउन १२ जना मानिसको टोलीसहित ससुराली पुगेका थिए । आफ्नी श्रीमती नाङ्गै परपुरुषसँग यौन क्रियाकलापमा संलग्न भएको पुष्टि गर्न दुई जनालाई समात्न लगाएर फोटो खिचिएको पीडित महिलाले बताइन् ।
घटनापछि अधिकारीलाई साइबर अपराधको मुद्दा दायर गरेका थिए । घटनाका दुवै मुद्दा अदालती प्रक्रियामा पुगिसकेका छन् । रोजेर विवाह गरिएकी श्रीमतीलाई घर लगेको महिनादिन पनि पूरा नहुँदै बिनाकारण जेठ ३२ गते माइतमा छोडेर हिँडेका श्रीमान् एकाएक असार ७ गते श्रीमतीलाई लिएर बजार गएको पीडितकी आमाको भनाइ छ ।
तर, भोलिपल्ट परिवारका सदस्यसहित एकाएक आएर छोरीलाई नाङ्गै बनाएर फोटो खिच्ने ज्वाइँको नियतमाथि नमेटिने दाग बनिएको उनको दुःखेसो छ । छोरीलाई घरमा पनि घरेलु हिंसा भएकोले सो सम्बन्धी मुद्दा दर्ता गरिने पीडित परिवारको भनाइ छ । कपडा किन्ने भन्दै बजार लगेका श्रीमान्ले दुईहजार नगद मात्र दिएको पीडित महिलाले बताइन् । ‘बाथरुममा नुहाउँदै गरेको अवस्थामा बाथरुम फोरेर नग्न अवस्थामा निकाली त्यो बाहिर बसेको पण्डितसँग जबरजस्ती राखेर नग्न फोटो खिच्यो र सोही प्रमाण देखाएर सम्बन्धविच्छेद गर्छु भन्दै बाटो लागेको छ’ –पीडितले भनिन् ।
घटनाको बारेमा तुरुन्तै जानकारी पाएको प्रहरीले अभियुक्तलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा लगेको थियो । उनलाई साइबर अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेर काठमाडाैं चलान गरिएको छ । अभियुक्तका मतियार पण्डितलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ । घटनाका योजनाकार काठमाडौं जिल्ला अदालतबाट २५ हजार धरौटीमा तारिखमा छुटेका छन् भने पीडित महिलाले जिल्ला अदालत झापामा खाईपाई जीविकासहित अंश मुद्दा हालेकी छन् ।