विर्तामाेड । झापाको अर्जुनधारा नगरपालिकाका शिक्षा प्रमुखले आफुखुशी शिक्षक कोटा बाँडेको आरोप लागेको छ । शिक्षाप्रमुख तोयानाथ रेग्मीले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट आएको ‘शिक्षण सिकाई सहयोग अनुदान’ दुरुपयोग गरेको युवाको आरोप छ ।

नगरपालिकामा रहेका ६ वटा बिद्यालयलाई मन्त्रालयबाट २१ लाख ९६ हजार रुपैंयाँ शिक्षण सिकाई सहयोग अनुदानका लागि प्राप्त भएको थियो । रेग्मीले त्यो रकम आफुखुशी बाँडेर दुरुपयोग गरेको आरोप नेपाल कम्युनिष्ट पार्टी अर्जुनधारा –६ का अध्यक्ष राम घिमिरेले लगाएका छन् । प्रतिशिक्षक ३ लाख ६६ हजार रुपैंयाँ पर्ने गरी रकम प्राप्त भएको हो ।

अनुदान रकमले आवश्यकता अनुसार नगरमा रहेका बिद्यालयमा आवश्यकता अनुसार ६ जना शिक्षक नियुक्ति गरेर तलबको ब्यवस्थापन गर्नुपर्ने थियो । त्यसका लागि शिक्षा निर्देशिका र नगर शिक्षा कार्यविधिले ब्यवस्था गरे बमोजिम हुनुपर्ने नियम रहेको घिमिरेले बताए । रेग्मीले आफुखुशी शिक्षक कर्मचारी नियुक्ति गर्दै अनियमितता गरेको आरोप स्थानीय युवाको छ ।

यता नगरपालिकाका शिक्षा शाखा प्रमुख तोया रेग्मीले भने मौजुदा ऐन, नियम, कानुन र प्रक्रिया अनुसार नै रकम खर्च गरेको बताएका छन् । मन्त्रालयको शसर्त अनुदानको बारेमा नगरपालिकाको बोर्डमा गएर निर्णय गराइराख्नु नपर्ने समेत रेग्मीले बताए ।

‘केही साथीहरु पुर्व योजना बमोजिम आउनु भएको रहेछ, उहाँहरुसँग जे थियो त्यो देखाएर जानुभयो, रेग्मीले भने–‘बिद्यालय ब्यवस्थापन समिति नभएको र सामाजिक लेखा परीक्षण नगराएको बिद्यालयमा यो अनुदान रकम खर्च गर्न नपाइने निर्देशिकामा लेखेको छ, त्यहाँ किन नदिएको भन्ने उहाँहरुको माग थियो ।’