भण्टाबारी/ १४ वर्षीया बालिका बलात्कारको आरोपी घटना भएको दुईहप्ता बितिसक्दासमेत पक्राउ परेको छैन । असार ३१ गते सुनसरीको हरिनगर गाउँपालिका–३ स्थित गौतमपुर नजिकैको केराबारीमा हरिनगर गाउँपालिका–२ की १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । उनलाई हरिनगर गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय समिम अन्सारी र वडा नम्बर ६ का दिलशाद अन्सारीले बलात्कार गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार झुक्याएर नजिकैको केराबारीमा लगेर ती दुईजनाले १४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको बारेमा मुद्दा दर्ता भएको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा बालिकाको स्वास्थ्य परीक्षण गरी मुद्दा दर्ता भइसकेकोले आवश्यक छानबिन जारी रहेको डिएसपी फुयालले बताए । घटनालगत्तै पीडित पक्षले कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।

मुद्दा दर्ता गरी घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीले छानबिन जारी राखे पनि पीडित पक्ष यसबारेमा मौन रहेको स्रोतले जनाएको छ । घटनाको भएको १५ दिन बित्दासमेत पीडितपक्ष मौन बस्नुले स्थानीय अगुवा तथा जनप्रतिनिधिले गाउँमै पीडित र पीडक पक्षलाई मिलाउन चलखेल गरिरहेको भन्ने शङ्का गर्न थालिएको नाम उल्लेख नगर्ने शर्तमा स्थानीय एक पत्रकारले जानकारी दिए ।

घटनाको बारेमा सीमित व्यक्तिलाई मात्र जानकारी गराई दुवैपक्षलाई मिलाउने चलखेल भएको उनले बताए । पीडित पक्ष न्याय पाउनुपर्ने पक्षमा भए पनि हरिनगर क्षेत्रका केही जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका अगुवाहरूले पीडित पक्षलाई मिल्न दबाव दिँदै आएको स्रोतले जनायो । यसबारेमा पीडित पक्षसँग सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेन । घटनाको बारेमा कसैले बोल्न न चाहनुले पनि भित्रभित्रै कुरा मिलाउने चलखेल भएको हुनसक्ने बुझिएको छ ।

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी फुयालले मुद्दा दर्ता भए पनि आरोपी फरार रहेकोले खोजतलास जारी रहेको बताउँदै बलात्कार जस्तो मुद्दा मिलाउन खोज्नेलाई समेत पक्राउ गरी आवश्यक कानूनी कारबाही गरिने बताए । ‘स्थानीयले जे कुरा पनि मिलाउने प्रयत्न गर्छन्, जनप्रतिनिधिहरू पनि त्यस्तै छन्, मिलाउनु हुँदैन भन्ने चेतना जगाउनुपर्ने बेला भएको छ’ –डिएसपी फुयालले भने । उनले अगाडि थप्दै भने, ‘मिलाउन खोजे पनि प्रहरीले मिलाउने कुरो हुँदैन, उनीहरूले मिलाए पनि हामी पक्रेर कारबाही गर्छौं ।