भण्टावारी / कोशी गाउँपालीका ४ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटानमा कार्यरत दुईजना प्रहरीलाई निलम्बित गरिएको छ । कटानदेखि इनरुवासम्म बस संचालनमा सहज गरिदिने भन्दै सेवाग्राहीबाट घुस माग्ने प्रहरी नायब निरीक्षक भिमबहादुर कटुवाल र प्रहरी जवान भरत कटुवाललाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।
काकडभिट्टादेखि काठमाडौ रुटमा विशाल भलाई कोष यातायात प्रालि मार्फत नयाँ पाथीभरा यातायातको तीनवटा यात्रु सेवा मिनि बसहरु संचालन गर्दै आएकोमा सुनसरीको कोशी गाउँपालीका ४ स्थित रहेकोे अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटानमा कार्यरत प्रहरी नायब निरीक्षक भिम कटुवालले उक्त बस संचालन गर्न सहज गरिदिने भन्दै मासिक रूपमा २ हजारका दरले रकम मागेका थिए । अन्य कम्पनीका बसले समेत कटानदेखि इनरुवासम्मको यात्रा सहज गर्ने नाममा २ हजारका दरले मासिक रूपमा दिदै आएको र प्रति बस २ हजारका दरले दिनुपर्छ भनी पटकपटक रकम माग गरेकोमा नदिएपछि साउन ५ गते राति ट्राफिक प्रहरीले काठमाडौंबाट काकडभिट्टा आउँदै गरेका मिनि बसलाई कोशी कटानमा रोकेका थिए । मासिक रकम नबुझाएकोले छोड्न नसकिने प्रहरी नायब निरीक्षक कटुवालले भनेपछि गाडीमा रकम नभएकोले काकडभिट्टाबाट फर्किदा दिने तर कति दिनुपर्ने सोध्दा प्रहरी जवान भरत कटुवालले कुरा गर्छ भन्दै छाडेका थिए ।
पछि साउन ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटानमा कार्यरत भरत कटुवाललाई सेवाग्राहीबाट ५ हजार घुस रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलिले नियन्त्रणमा लिएका थिए । उनको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय दिङला भोजपुर दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटानमा कार्यरत प्रहरी नायब निरीक्षक भिमबहादुर कटुवालकोसमेत संलग्नता देखियो ।
यसरी थुनामा सार्वजनिक पद धारण गरेको व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५१ को दफा ३३ बमोजिम स्वत निलम्बनमा रहने कानुनी प्राबधान रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल काठमाडौका अनुसार प्रहरी जवान भरत कटुवाललाई साउन ६ गतेदेखि र प्रहरी नायब निरीक्षक भिम कटुवाल लाई साउन १० गतेदेखि लागू हुनेगरी निलम्बित गरिएको जनाएको छ ।