भद्रपुर / थ्रीनट थ्री राइफलमा प्रयोग हुने एक थान गोलीसहित भद्रपुर विमानस्थलबाट एक ब्यक्ति पक्राउ परेका छन् ।
विमानस्थलमा चेकजाँचका क्रममा इलाम सुर्योदय नगरपालिका–४ श्रीअन्तुका ३८ वर्षीय सुरेन राईलाई गोलीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राईको सामानलाई एक्स रे मेसिनमा हाल्दा झोला भित्र रहेको थ्रीनट थ्री राइफलमा प्रयोग हुने एक थान गोली फेला परेको थियो । विहीबार दिउँसो साढे १२ बजे राईको सामान चेक जाँचमा परेको थियो । हजुरबुवा भारतीय भूतपूर्व शैनिक भएकोले घरमा ल्याएको गोली कपडामा परेको हुन सक्ने राई बताएका थिए ।
घटनापछि राईलाई प्रहरीले गोलीसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सौर्य एयरलाईन्सबाट काठमाडौं जाने तयारीमा राई विमानस्थल आएका थिए ।