बिर्तामोड । झापाको बिभिन्न स्थानमा रहेका एनसेल टावरमा भएको बम बिस्फोट र आगजनीको नेत्र बिक्रम चन्द ‘बिप्लप’ नेतृत्वको नेकपाले जिम्मा लिएको छ ।
 
नेकपाका झापा सेक्रेटरी मनिषले ब्लाष्ट दैनिकलाई फोन गर्दै बिस्फोट र आगजनीको जिम्मा लिएका हुन् ।
 
नेकपाले झापाले बुधबार राती दमकमा रहेको एनसेल टावरमा बम बिस्फोट गराएको थियो । बिस्फोटबाट कुनै ठुलो भौतिक क्षति भने नभएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
 
यसैगरी झापाको कमल गाउँपालिका, भद्रपुर र अर्जुनधारा नगरपालिकामा रहेका तीनवटा टावरको फेदमा आगजनी गरेको श्रेष्ठले बताए । जुटको वोरामा पेट्रोल छर्किएर आगजनी गर्ने प्रयास गरेको श्रेष्ठले जानकारी दिए ।
 
बिस्फोट र आगजनीबाट एनसेलको टावरमा कुनै ठुलो क्षति नभएको पाइएको छ । प्रहरीले एनसेलको टावर लक्षित बिस्फोट र आगजनी बिप्लप समुहले गरेको आशंका प्रहरीको भएपनि हालसम्म त्यो पुष्टी हुन सकेको थिएन ।
 
बिप्लप समुहका झापा सेक्रेटरी मनिषले ‘कर नतिरेसम्म एनसेलमाथीको कारवाही’ जारी राख्ने चेतावनी दिए । ‘अदालतसम्म सेटिङ गरेर कर मिनाहा गराउने षड्यन्त्र हुँदैछ, सेक्रेटरी मनिषले भने–‘जनताले तिरेको कर ब्रह्मलुट हुनबाट रोक्ने हाम्रो अभियान जारी छ ।’ राज्यले नगद वा जिन्सी जफत गरेर भएपनि एनसेलबाट कर असुल्नुपर्ने उनले बताए ।
 
– प्रतिकात्मक फाइल तस्बिर