भद्रपुर / गएराती अज्ञात समूहले झापाका दुइओटा एनसेल कम्पनीको टावरमा आगजनीको प्रयास गरेका छन् । मङ्गलबार राति ८ देखी १० बजे भित्र अज्ञात समूहले झापाको भद्रपुर र दमकमा रहेको दुई वटा एनसेल टावरमा आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर नगरपालिका ३ स्थित गोले चोकमा १० बजे तिर र दमक नगरपालिका १ मामा चोकमा रहेको एनसेलको टावरमा ८ बजे तिर आजगजीको प्रयास भएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भद्रपुरको टावरको भेदमा आगो लगाउने प्रयास भएको श्रेष्ठले जनाए ।
घटनापछि भद्रपुरको सम्पूर्ण टावरमा प्रहरी परिचालन गरिएको उनको भनाइ छ । दमकको मामा चोकमा रहेको टावर बाहिर बम पड्काएको आवाज आएको भए पनि टावर वरिपरि कुनै क्षति नभएको उनको भनाइ छ । टावर बाहिर १ लिटरको कुकर बमको अवशेष वुधबार विहान फेला परेको उनले जनाए । जिल्लाको एनसेल टावरमा आक्रमणको प्रयास भए पछि टावर भएका स्थानमा पायक पर्ने प्रहरीबाट जिल्लाभरि प्रहरी परिचालन गरेको उनले जनाए ।
एनसेल कम्पनी बिर्तामोडका इन्जिनियर वीरेन्द्र झाका अनुसार जिल्लाको टावरमध्ये भद्रपुर र दमकमा आक्रमणको प्रयास भएको बताए । जिल्लाको सम्पूर्ण टावर सुचारु रहेको उनले जनाए । एनसेल कम्पनीले राज्यको कर नतिरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले यसअघि पनि पटक पटक टावरमा आक्रमण गरेका थिए । झापामा भएको आक्रमणको प्रयास पनि सोही समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ । समूहको व्यापक रुपमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।