भण्टावारी/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ स्थित कप्तानगञ्जबाट एकजना सशस्त्र प्रहरी जवानलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
शनिबार अपराह्नको समयमा घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले सशस्त्र प्रहरी जवान बलराम यादवलाई १ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
सुनसरी सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान यादवले सेवाग्राहीबाट व्यापारमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिईसकेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।
घुस मागिरहेको सूचनाका आधारमा पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।यसैबीच कप्तानगञ्जका स्थानीयहरुले निर्दोष व्यक्तिलाई जबर्जस्ती फसाउन खोजिएको भन्दै शनिबार नाराबाजी गरेका छन् ।
स्थानीयहरुले अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको सहयोगमा अख्तियारको टोलिले आरोपित सशस्त्र प्रहरी जवान यादवलाई अनुसन्धानको लागि लगेको थियो ।