विराटनगर/ गत १५ चैतमा विराटनगरस्थित डिभिजन वन कार्यालय मोरङपरिसरभित्रबाट सव–डिभिजन प्रमुख सलाउद्दिन अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घूस रकमसहित रङ्गेहात पक्राउ गर्यो ।

आयोगका इटहरीस्थित तत्कालीन डिएसपी डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले अन्सारीलाई सुन्दरहरैंचादेखि आएका एक सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घूस रकम लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको थियो ।

सव–डिभिजन प्रमुख अन्सारीले मोरङको केराबारी गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाभित्र पर्ने १७ वटा सामुदायिक वन र एउटा साझेदारी वन हेर्ने जिम्मेवारी पाएका थिए । सामुदायिक वनको रुख कटान गर्ने अनुमति सिफारिस–पत्र बनाइदिनको लागि भन्दै उनले सेवाग्राही र वन समितिसँग घूस मागेको आरोप छ ।

घूस रकमसहित सव–डिभिजन प्रमुख अन्सारीलाई पक्राउ गरेको तीन महिनापछि अख्यितारको विशेष टोलीले २७ असारमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र प्रतिष्ठानका डा. रामहरि रौनियारलाई आठ लाख घूससहित पक्राउ गर्यो । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसनबापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले उनीहरूलाई प्रतिष्ठानपरिसरस्थित उपकुलपति निवासबाट रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

उपकुलपति पक्राउ परेको तीन दिन बित्न नपाउँदै ३० असारमा भोजपुर सदरमुकामस्थित सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घूस रकमसहित पक्राउ परे । प्रदेश नं. १ मातहत रहेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इञ्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घूस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

घूस रकमसहित रङ्गेहात पक्राउ परेका उल्लेखित घटना प्रतिनिधिमूलकमात्र हुन् । इटहरीस्थित अख्तियारको कार्यालयले प्रदेश १ का १४ जिल्लाबाट दुई वर्षमा घूसखोरलाई पक्राउ गर्न ३४ वटा स्टिङ अप्रेसन गरेर ४४ जनालाई पक्राउ गरेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा घूस रकमसहित रङ्गेहात पक्राउ गर्न अख्तियारले १८ वटा स्टिङ अप्रेसन गरेकोमा २४ जना रङ्गेहात पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

घूससहित रङ्गेहात पक्राउ पर्ने सरकारी कर्मचारी र चिकित्सकहरू छन् । अख्तियारको अभिलेखअनुसार घूस रकमसहित रङ्गेहात पक्राउ पर्नेको संख्यामा वृद्धि भएको छ । आयोगका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा १६ वटा स्टिङ अप्रेसन गरेकोमा २० जनालाई घूस रकमसहित रङ्गेहात पक्राउ गरेको अभिलेखमा देखिन्छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा ४ जना बढी हो ।

इटहरीस्थित आयोगमा विभिन्न माध्यमबाट गत आर्थिक वर्षमा १ हजार ७ सय ८६ वटा प्राप्त कुल उजुरीहरूमध्ये प्रारम्भिक छानबिनबाट ९ सय २१ वटा फछ्र्यौट भएको छ । जसमा ८ सय ६५ वटा जिम्मेवारी सरेर चालू आर्थिक वर्षमा आएको आयोगले जनाएको छ । प्रारम्भिक उजुरीमा अघिल्लो आर्थिक वर्षबाट ५ सय ६० वटा जिम्मेवारी सरेर र आर्थिक वर्षमा १ हजार २ सय २६ वटा उजुरी आयोगमा आएको थियो ।

विस्तृततर्फ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ६३ र आर्थिक वर्षमा ४७ वटा नयाँ गरी ०७५/७६ मा १ सय १० वटा उजुरी इटहरीस्थित आयोगको कार्यालयमा दर्ता भएको अभिलेखमा देखिन्छ । जसमध्ये ३९ वटा अनुसन्धान पूरा गरी अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पठाएकोमा आर्थिक वर्षमा ९ वटा अख्यितारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्यितार छ ।

इटहरीस्थित आयोगले घूससहित पक्राउ गरेका र उजुरी परेकामाथि अनुसन्धान पूरा गरी केन्द्रीय कार्यालयमा पठाउने गरेको रअख्तियारको केन्द्रीय कार्यालयले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको छ । अख्तियारले घूसखोरलाई रङ्गेहात पक्राउ गर्न सेवाग्राहीको भेषमा स्टिङ अप्रेसन गर्दै आएको छ ।