विराटनगर । प्रहरीले पक्राउ गरेको विप्लव समूहका धनकुटा–मोरङ सेक्रेटरी केराबारी गाउँपालिका–३ का ४५ वर्षीय दीपक राई धरान उपमहानगरपालिका–६ पानमाराबाट बरामद गरेको अत्याधुनिक हतियार बोक्ने कार्यमा संलग्न भएको खुलेको छ । प्रहरीको तीव्र खोजीको सूचीमा रहेका राईलाई केराबारीबाट बिहीबार पक्राउ गरेपछि यस्तो खुलेको हो ।

०७५ फागुन १५ गते पानमाराबाट अत्याधुनिक हतियारसिहित विप्लव समूहका कोशी ब्युरो सेक्रेटरी मोरङ बेलबारी–१० का देवकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको भए पनि त्यसबेला दीपक फरार भएका थिए । अत्याधुनिक हतियार र मे.५ प ७५ नम्बरको मोटरसाइकल छाडेर जङ्गलको बाटो हुँदै केराबारीतर्फ भागेका थिए । त्यसबेला प्रहरीले खोजी गर्दा पनि उनलाई पक्राउ गर्नको सकेको थिएन ।

त्यसबेला राई र लिम्बूले अत्याधुनिक हतियार सुरिक्षत ठाउँमा सार्न खोज्दा लिम्बू पक्राउ परेका थिए । त्यतिबेला उनको साथबाट नेपाली सेनाले द्वन्द्वकालमा अमेरिकाबाट खरिद गरेर ल्याएको र नेपालमा सेनाले मात्रै प्रयोग गर्ने अत्याधुनिक हतियार एलएमजी एक थान र एम १६ एकथान बरामद भएको थियो ।

हतियार बोकेर मोटरसाइकलको पछाडि सवार रहेका ‘विप्लव’ समूहका धनकुटा–मोरङ सेक्रेटरी राई भने दुवै हतियार र मोटरसाइकल छाडेर भागेका थिए । फरार भएका उनका बारेमा त्यतिबेलै पहिचान खुलेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । प्रहरीको अनुसन्धानले दुवै हतियार द्वन्द्वकालमा माओवादीले नेपाली सेनाबाट खोसेको निष्कर्ष निकालेको छ ।

‘लिम्बू अत्याधुनिक हतियारसहित पक्राउ परे पनि हतियार बोकेर मोटरसाइकलको पछाडि बसेका राई फरार भएका थिए’ खोजी कार्यक्रमा सक्रिय रूपमा लागिपरेको एक प्रहरी अधिकारीले भने, ‘लामो समयको खोजबिन र मेहनतपछि पक्राउ गर्न सफल भयौं ।’ मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रहरीको विशेष टोलीले लामो समयदेखि फरार रहेका र प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका राईलाई केराबारी–३ बाटै पक्राउ गरेको पुष्टि गरे । उनका अनुसार राईलाई एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
सङ्गठित अपराध र खरखजाना मुद्दा

इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका राईविरुद्ध सङ्गठित अपराध एवम् हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान अघि बढाएको छ । इप्रका धरानका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार यसअघि नै दर्ता भएको सङ्गठित अपराध एवम् हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार सुनसरी अदालतमा म्याद थप गरेर राईमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

यसैबीच ‘विप्लव’ नेतृत्वको नेकपाले दीपक राईलाई पक्राउ गरिएको घटनाको विरोध जनाएको छ । उनी साङ्गठनिक कामको सिलसिलामा रहेका बेला पक्राउ परेको नेकपाको मेची–कोशी ब्युरो इञ्चार्ज अनुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न तथा जनतालाई तर्साउन आफ्ना नेता कार्यकर्ता पक्राउ गर्ने काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनाबाट विचलित भन्दा पनि अझ सशक्त भएर निस्कने नेकपाको दाबी छ । विज्ञप्तिमार्फत् पक्राउ परेका सबै नेता कार्यकर्ताको यथाशीघ्र रिहाइको माग पनि गरिएको छ ।