धरान । लागूऔषध दुव्र्यसनमुक्त गर्न जुटेका प्रहरी नै लागूऔषधसहित पक्राउ परेको सुन्दा सबैलाई अचम्म लाग्न सक्ला ! तर, इलाका प्रहरी कार्यालय धरानले कार्यालयमै कार्यरत प्रहरी जवानलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा दरबन्दी भई हाल धरानमा कार्यरत प्रहरी जवान दीपककुमार तामाङलाई धरान–१६ स्थित रङ्गशालापरिसरबाट पक्राउ गरेको हो । तामाङ मोरङ विराटनगरका स्थायी बासिन्दा हुन् । उनीसहित धरान–८ का ३४ वर्षीय दिलकुमार लिम्बू, ४० वर्षीय ओमबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।

उनीहरूमध्ये दिलकुमारले बोकेको झोला चेकजाँच गर्दा स्पास्मोप्रोक्सिभन २ सय ६४ ट्याब्लेट र स्पास्मोट्रोक्सिभन १ सय ३६ क्याप्सुल बरामद गरेको छ । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन धनकुटामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत प्रहरी जवान सन्तोष तामाङलाई पनि पक्राउ गरेको छ ।

उनीहरूलाई एक महिनाभन्दा अगाडि नै पक्राउ गरिएको थियो । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर हेडक्वार्टर सुनसरीमा दरबन्दी भई सुरक्षा बेस गोलबजारमा कार्यरत सशस्त्र प्रहरी जवान जङ्गबहादुर श्रेष्ठलाई लागूऔषध र पेस्तोलसहित पक्राउ गरेको छ ।

उनी भोजपुर ट्याम्के मैयुङ गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् । उनलाई लागूऔषध तथा खरखजाना मुद्दामा म्याद थप गरिएको छ । इप्रका धरानले पहिलो पटक लागूऔषधमा प्रहरीलाई पक्राउ गरेको हो । यस विषयमा प्रदेश १ प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवालीले शुक्रबार धरान–१५ को अस्थायी प्रहरी बिट उद्घाटनको क्रममा बताएका थिए । उनले प्रहरीहरूले अपराधमा संलग्न भएको उदाहरण पेश गरेका थिए ।