बिर्तामोड । युवतीको माध्यमबाट (हनी ट्रयापिङ) बाट व्यसायीलाई बन्धक बनाउदै ४० लाख रुपैंयाँ असुल गर्न खोज्ने गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोडका एकजना ब्यवसायीलाई बन्धक बनाएर रकम असुल गर्न खोज्ने एक युवतीसहित चारजनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो ।

असार अन्तिम साता बिर्तामोडमा नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट फोन आयो । दुबैबीच परिचय भयो । मीठो स्वर भएका कारण उनी फोन गर्ने युवतीबाट प्रभावित भए । व्यवसायीले पनि त्यसपछि लगातार युवतीलाई फोन गर्न थाले । उनीहरुको इमो, भाइबरमा उनीहरुको माया, प्रेम हुँदै सेक्ससम्मका कुरा हुन थाले । साउन १ गते युवतीले आफु बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै ब्यवसायीलाई फोन गरिन् ।

हेर्दा जवान, सुन्दर युवतीले भेट्न बोलाएपछि ब्यवसायी उनले बताएको स्थानमा गए । भेट भयो । फोनमा उनीहरुबीच अश्लिल कुराकानी भइसकेको थियो । ढिलो नगरी ती ब्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे । असुरक्षा हुने भन्दै युवतीले ब्यवसायीको होटल जाने भन्ने कुरा मानिनन् । उनले भद्रपुर रोडमै साथीको कोठा भएको हुनाले त्यसतर्फ जाने प्रस्ताव राखिन् । ब्यवसायीले पनि त्यो प्रस्ताव उपयुक्त ठाने र कोठा जान राजी भए ।

उनीहरु कोठामा पुग्दा कोही पनि थिएनन् । बेलुका ८ बजे उनीहरु ढोकामा चुक्कुल लगाएर बसेका थिए । यत्तिकैमा ढोका ढक–ढक ग¥यो । ढोका खोल्दा हातमा छुरा बोकेका दुईजना युवाले व्यवसायीलाई कुटपिट गर्न थाले । छुरा र प्लाष्टिकको पेस्तोल देखाउँदै उनलाई कोठाभित्र बन्धक बनाइयो । नाटकीय ढंगबाट किशोरीलाई त्यहाँ रहेका मध्ये मिराज खान भन्ने युवाले बाहिर लगेर छोड्छन् । त्यतिबेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले उनको नाङ्गो फोटो र भिडियो तयार गरेका हुन्छन् ।

त्यसपछि व्यवसायीसँग ५० लाख रुपैंयाँ वार्गेनिङ हुन्छ । अन्तिममा साउन ५ गते ४० लाख रुपैंयाँ दिने शर्तमा व्यवसायीलाई त्यहाँबाट मुक्त गरिन्छ । यति गर्दा रातको १० बजेको हुन्छ । रकम जम्मा हुदै गरे नगरेको बारेमा लगातार उनीहरुले ताकेता गर्छन् । पैसा नदिए ज्यान मार्ने धम्की समेत उनीहरुले दिएका हुन्छन् । त्यसपछि व्यवसायीले इलाका प्रहरी कार्यालयमा गएर घटनाको बारेमा विस्तृत कुरा बताउँछन् ।

प्रहरीले पीडितलाई जाहेरी दरखास्त दिन लगायो । र भित्रभित्रै अपहरणकारीको खोजी शुरु ग¥यो । पीडितसँग फोन आएका मोवाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका को मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दाजिलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई पक्राउ गर्न सफल भयो ।

त्यसलगत्तै ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रितु फियाक लिम्बूलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको बताएको छ ।

प्रहरीले उनीहरुबाट बा।१५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको शिलप्याक बोतल ३ थान, प्लाष्टिकको नक्कली पेस्तोल, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको औषधी बरामद गरेको छ । पक्राउ परेकामाथि शरीर बन्धक बनाइ अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी मोहन थापाले बताए ।

प्रतिवादी मध्येका सञ्जु क्षेत्री भनिने सुजन शंकरलाई २ वर्ष अगाडि मानव वेचविखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेको पाइएको छ । सोही मुद्दामा पक्राउ परेकी उनकी प्रेमिका भने झापा कारागारमा कैद भुक्तान गरिरहेकी छन् ।

शंकर भने प्रेमिका भेट्न नियमित जसो कारागार जाने गरेको भए पनि प्रशासनले उनको बारेमा थाहा पाउन सकेको थिएन । यो घटनामा पक्राउ परेपछि मात्र उनको विगत सार्वजनिक भएको हो । अभियुक्तहरुले संगठित अपराध गर्नका लागि विर्तामोड स्थित भद्रपुर रोड कुमारी बैंक पश्चिम पट्टिको गल्लीभित्र एउटा घरको चारतल्लामा फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको प्रहरीको भनाइ छ ।

हनी ट्रयापिङको घटना प्रदेशमै पहिलो भएको हुनसक्ने प्रहरीको अनुमान छ । काठमाडौंमा सुनिंदै आएको यस प्रकारको संगठित अपराध पुर्वमा पहिलो पटक थाहा पाएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।